रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ का अति विपन्न मुसहर समुदायलाई बुधवार नि:शुल्क विजुलीको मिटर बक्स वितरण गरिएको छ । नेपाल विद्युत प्राधिकरणले सो वडा अन्तर्गतको सिसुवारमा रहेका २३ घरधुरीलाई नि:शुल्क मिटर बक्स उपलब्ध गराएको हो । नि:शुल्क मिटर बक्स पाएपछि मुसहर समुदायमा खुसी छाएको छ । विजुलीको लागि आवश्यक पर्ने तार भने बाघमारा मध्यवर्ती सामुदायिक वनले प्रदान गरेको छ । वडा कार्यालयको समन्वयमा प्राविधिरणले सीमान्तकृत मुसहर समुदायलाई नि:शुल्क मिटर बक्स वितरण गरेको हो । बाघमारा मध्यवर्ती सामुदायिक वन अन्तर्गतको सिसुवार टोलले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख श्रीरामराज पाण्डेले मुसहरलाई मिटर बक्स हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले प्राधिकरणको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अति विपन्न परिवारलाई नि:शुल्क मिटर बक्स वितरण गरिएको बताए । सिसुवार टोल संयोजक सिताराम महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लालबहादुर भट्ट, बाघमारा मध्यवर्ती सामुदायिक वनका निर्वतमान अध्यक्ष विपी चौधरी, अध्यक्ष जीतु तामाङ, नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीबास्तब लगायतले मन्तव्य राखेका थिए ।

