१८ असार, रामु आचार्य ।
रत्ननगर । श्रीकृष्ण प्रणामी मन्दिर वृजधाम टिकौलीका संस्थापक महन्त ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिको स्मृतिमा आयोजित श्रीमत्तारतम सागरको अखण्ड पाठ–पारायण तथा प्रतिमा अनावरण कार्यक्रम शनिबार एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। समापन समारोहमा श्रीकृष्ण प्रणामी मन्दिर, रत्ननगर–१० का अध्यक्ष लिलाराज सुवेदीको सभापतित्व तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रकाश खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख सापकोटाले मानिस जहाँ पुगे पनि अध्यात्म र धर्म जीवनको अभिन्न आवश्यकता रहेको बताउनुभयो। धर्मले मानिसलाई सही मार्गमा डोर्याउने उल्लेख गर्दै उहाँले धर्मप्रति आस्था बढेपछि लोभ, लालच, स्वार्थ र अनावश्यक प्रतिस्पर्धा स्वतः कम हुँदै जाने धारणा राख्नुभयो। समाजमा नैतिकता, सद्भाव र अनुशासन कायम राख्न धर्मको अनुशरण आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्री नवतन धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराज, श्री १०८ तारा माताजी (संरक्षक, श्रीकृष्णकृपा धाम, देवघाट), केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, धार्मिक संरक्षण मण्डल सचिवालय सदस्य तिलक शर्मा पौडेल, निवर्तमान केन्द्रीय कोषाध्यक्ष होमनाथ बराल, श्रीकृष्ण प्रणामी बाईजुराज महिला केन्द्रीय सदस्य शोभा ओली शर्मा तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्यसमिति अध्यक्ष दिपक चन्द्र शर्माले ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजले धर्म, आध्यात्मिक जागरण र समाज सेवामा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँका आदर्शलाई पछ्याउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमका वक्ताहरूले श्रीमत्तारतम सागरको अध्ययन, सत्संग तथा आध्यात्मिक साधनाले समाजमा नैतिक चेतना, आपसी सद्भाव र मानव सेवाको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए। उनीहरूले ब्रह्मलिन गुरुजीको स्मृतिमा आयोजित यस्ता धार्मिक कार्यक्रमले नयाँ पुस्तालाई आध्यात्मिक मूल्य र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका धर्मप्रेमी, साधु–सन्त, समाजसेवी, जनप्रतिनिधि तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका सचिव बालकृष्ण अमगाईंले संचालन गर्नुभएको थियो ।

