रत्ननगर, चितवन । शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिला सदस्यहरूको सीप, क्षमता तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरिएको हो। समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी ले शान्तिकुञ्जले समाजका आवाजविहीन तथा पछाडि परेका महिलाहरूको आवाज बन्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले सहकारीले महिला सशक्तीकरण, आयआर्जन तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदान उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउन वडा कार्यालयको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमकी सभाध्यक्ष तथा संस्थाकी अध्यक्ष निर्मला दंगाल ले शान्तिकुञ्ज निरन्तर रूपमा महिला दिदीबहिनीहरूको आर्थिक तथा सामाजिक उन्नयनका लागि क्रियाशील रहेको बताउनुभयो। उहाँले सहकारी केवल संस्था मात्र नभई महिला सशक्तीकरणको अभियानका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। विशिष्ट अतिथि संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघकी सदस्य पार्वती न्यौपानेले सहकारी स्थापनादेखि हालसम्मको यात्राको स्मरण गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक उपलब्धि प्राप्त हुने बताउनुभयो। उहाँले सिकेका कुरालाई व्यवसायिक अभ्यासमा रूपान्तरण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि एवं रत्ननगर नगरपालिका–१२ की कार्यपालिका सदस्य चन्द्रा पनेरु, अतिथि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक जनार्दन पौडेल र संस्थाका सल्लाहकार रघुनाथ भट्ट ले तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न तथा दुग्धजन्य वस्तुको व्यवसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक गोपी पुडासैनी ले व्यवसायिक योजना तथा रणनीति सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। तालिम अवधिभर सहभागीहरूले दुग्धजन्य वस्तु उत्पादन, गुणस्तर व्यवस्थापन, व्यवसाय सञ्चालन तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए।
सहकारीका अनुसार तालिमले महिलाहरूमा उद्यमशीलता विकास गर्दै स्वरोजगार र आयआर्जनका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सहभागीहरूले प्राप्त सीपलाई व्यवहारमा लागू गर्दै व्यवसायिक उत्पादनमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।




