काठमाडौँ : अब ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने व्यवस्था सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणका क्रममा यस्तो घोषणा गरेका हुन्।

लामो समयदेखि सेवाग्राहीले लाइसेन्सका लागि कुर्नुपरेको समस्यालाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य समेत राखिएको छ। मन्त्री तिमिल्सिनाले अब सेवा अवरुद्ध नहुने र नागरिकले छिटो सेवा पाउने विश्वास व्यक्त गरे।

निरीक्षणका क्रममा उनले अर्बौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण प्रयोगविहीन हुनु दुःखद भएको उल्लेख गर्दै ती उपकरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल सुरु गरिएको जानकारी दिए। करिब एक अर्ब रुपैयाँ बराबरका मेसिन अब प्रभावकारी रूपमा प्रयोग गरिनेछ।

मन्त्री तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री वातावरणमा काम गर्न निर्देशन दिएका छन्। साथै, देशभर इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सुधार गरी आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको बताए।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक ४० हजार लाइसेन्स छापिँदै आएको छ। वैशाख १२ गतेभित्र थप १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने योजना रहेको छ। भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता संवेदनशील सामग्री पनि यहीँबाट छाप्ने गरी क्षमता विकास भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार