पूर्वी चितवनको रत्ननगर-४ मा रहेको न्यू क्यापिटल कलेजको २५औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार पूर्वी चितवन विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चित्रकलातर्फ सगरमाथा स्कूलका विनय रेग्मी र वक्तृत्वकलातर्फ बैरीया माध्यमिक विद्यालयकी छात्रा आदिती आचार्य प्रथम भएका छन् ।
कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख डा. तारा प्रसाद ढुङ्गानाका अनुसार चित्रकला प्रतियोगितामा हिमालयन इङ्लिस स्कूलका एन्ड्रिन बिके द्वितीय, पञ्चकन्या विद्यामन्दिरका नैन गुरुङ तृतीय र पदमपुर शिक्षा निकेतनकी सबिता बरामले सान्त्वना स्थान हासिल गरे । यस्तै, वक्तृत्वकला प्रतियोगितामा लाइसियम मोडल स्कूलकी रहीसा अधिकारी द्वितीय, आदर्श विद्या आश्रमकी खुशी बर्तौला तृतीय र सैनिक आवासीय महाविद्यालयकी ऋषिका पौडेलले सान्त्वना स्थान प्राप्त गरे । विजेताहरुलाई क्रमशः नगद रु. ५,०००, रु. ३,०००, रु. २,००० र रु. १,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको डा. ढुङ्गानाले बताए ।
कार्यक्रममा रत्ननगर प्याब्सनका अध्यक्ष भुवनसिंह थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कलेजका प्राचार्य भुपेन्द्र धितालले स्वागत मन्तव्य राख्दै कार्यक्रमबारे जानकारी गराएका थिए । चित्रकला प्रतियोगितामा पूर्वी चितवनका ३३ विद्यालयबाट ५९ विद्यार्थी र वक्तृत्वकला प्रतियोगितामा ३४ विद्यालयबाट ५४ विद्यार्थीले सहभागिता जनाएको प्राचार्य धितालले बताए ।
चित्रकला प्रतियोगिताको निर्णायकमा प्रमिश कँडेल र वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शहीद स्मृति क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा. कृष्ण सुवेदी तथा भुवानीशङ्कर कलेजका क्याम्पस प्रमुख दीपक गौतम रहेका थिए । चित्रकला प्रतियोगिताको संयोजक अमित भुसाल र वक्तृत्वकला प्रतियोगिताको संयोजक विष्णुप्रसाद सापकोटा थिए ।

