
१३ साउन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पाटी भित्र गुटउपगुट नरहेको जिकिर गरेका छन् । पूर्वी चितवनको राप्ती–८ खुरखुरेमा आज शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने ” पार्टी जन्मिएको छोटो समयमै पार्टीभित्र गुट–उपगुट जन्मिए भनेर विरोधीहरुले गलत भाष्य निर्माण गर्ने प्रयत्न गरिरहेका छन्, हाम्रो पार्टीले छोटो समयमै छलाङ्ग मारेको देखेर हामीविरुद्ध भ्रम सृजना गर्न खोजिँदैछ, ‘हामीहरुबीच कुनै विवाद छैन, गुटउपगुट हुने कुरै भएन, तपाइँहरु भ्रममा नपर्नुहोला ।”
लामिछानेले २०८४ मा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने पनि बताएका छन् । भेलालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘वडा तहदेखि नगरसम्मै योग्य मान्छे छानेर उम्मेदवार बनाउनुस्’, ‘२०८४ को निर्वाचनमा हाम्रो पार्टीले बहुमत हासिल गर्नेछ र मेरो आफ्नै नेतृत्वमा सरकार गठन हुनेछ ।’ आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने अब धेरै टाढा नभएको बताएका छन् ।
उनले भने, ‘हाम्रो सपनाको एउटा अध्याय अघिल्लो निर्वाचनले देखाइसकेको छ,’ ‘जम्मा २१ जना सांसदले जित्दा त देशभर घण्टीको आवाज सुनिएको छ, २०८४ मा बहुमत ल्याएर घण्टी बजाउँदा त्यो आवाज कहाँसम्म सुनिएला ?
सभापति लामिछानेले आफ्नो पार्टीमा बढीमा दुई कार्यकालको लागि मात्र नेतृत्व गर्ने नीति छ, दुई कार्यकालपछि नेतृत्व हस्तान्तरण गरिनेछ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली जनताको मुद्धालाई स्थापित गरेरै छाड्ने उनले दाबी गरे । यो वर्ष आफ्नो पार्टीको योजना वर्ष रहेको भन्दै काम गर्न नसक्ने भनेर भ्रम सृजना गर्न खोजिएकोप्रति सचेत रहन उनले कार्यकर्तालाई आह्वान गरे ।
देशमै गरीखाने वातावरण रास्वपाले बनाउने लामिछानेले बताए । टीका लगाएर परदेश पठाउनु पर्ने वातावरण अन्त्य हुन्छ, उनले भने – आशा र भरोसालाई नतोड्नस्, तपाइँहरुको विश्वास कदापि टुट्न दिने छैन । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्र बनाउने दाबी गरे । नमुना क्षेत्र बनाउनकै लागि केही योजना बनाएको र आगामी १७ गते योजना सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको उनले बताए । हामी इमानको राजनीति गर्न राजनीतिमा आएका हौँ, परिवर्तनको साहस बोकेका छौँ ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ का आफ्ना सांसदप्रति गुनासो आएकाले सक्रिय बनाउने लामिछानेको भनाई थियो । यहाँका माननीयको बारे गुनासो आएको मैले सुनेँ, लामिछानेले भने, ‘उहाँलाई सक्रिय बनाउँछु, तपाईहरु पनि सक्रिय हुनुस् ।’ रास्वपा राप्ती नगर समिति सभापति तिलक कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा करिब तीन सय जनाले रास्वपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा ठूला तीन पार्टीका कार्यकर्ताहरु बढी रहेको दाबी गरिएको छ ।