चितवन ०५ चैत । चितवनको राप्ती नगरपालिकामा नेकपा मालेको सिंगो नगर कमिटी नै एकीकृत समाजबादीमा समायोजन भएको छ । मालेका जिल्ला कमिटी उपसचिव ओमप्रसाद डल्लाकोटीको नेतृत्वमा जिल्ला सचिवाल सदस्य,जिल्ला सदस्य तथा नगर कमिटीका सदस्यहरु समाजबादीमा प्रवेश गरेका हुन ।
भण्डारामा आयोजित एकता घोषणा कार्यक्रममा समाजबादीका प्रदेश कमिटी सदस्य वाबुराम पाठक र मालेका जिल्ला कमिटी उपसचिव ओमप्रसाद डल्लाकोटीले सहमती पत्रमा हस्ताक्षर गरी पार्टी एकता भएको घोषणा गरेका थिए । पार्टी एकता भएसंगै जिल्ला उपसचिव डल्लाकोटी सहित जिल्ला सचिवालय सदस्य कृष्णमाया मानन्धर,जिल्ला कमिटी सदस्यहरु धर्मराज अधिकारी,गायत्री रुवाली सहित ९ जना समाजबादीका समायोजन भएका छन् । मालेका नगरकमिटी सदस्यहरु तुलसीमाया अम्गाई,जीवन्त खरेल,तेजराज दुवाडी,अमृत परियार,बलराम रेग्मी,रामचन्द्र उप्रेती,बधुवा चौधरी र प्रदिप अधिकारी एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नगर कमिटी अध्यक्ष शमशेर लामाले केही दिन अघि विप्लप माओवादीको नगर कमिटी समाजबादीमा समायोजन भएकोमा सोमबार फेरी समाजबादी र माले बीच पार्टी एकता भएको बताए । कम्युनिष्ट पार्टीहरु बीच एकता गर्दै समाजबादी पार्टीलाई राप्तीमा बलियो शक्तिको रुपमा स्थापित गर्ने अभियानमा रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समाजबादी पार्टीका जिल्ला अध्यक्ष डा.कृष्णराज पन्तले नेपालका सच्चा कम्युनिष्ट पार्टीहरु बीच एकता रहेको भन्दै साना ठुला कम्युनिष्ट पार्टीहरु बीच एकता गरेर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा समाजबादीका जिल्ला कमिटी सचिवालय सदस्य राम सेढाई,नगर कमिटी इन्चार्ज हेमन्त कँडेल,नगर कमिटी सचिव तथा जिल्ला सदस्य आरके पण्डित लगायतले मन्तव्य राखेका थिए । १३ सदस्यीय नगर कमिटी रहेको मालेको दुई जना एमाले र कांग्रेसमा प्रवेश गरेको र ११ जना मध्ये ९ जना समाजबादी प्रवेश गरेका छन् । बाहिर रहेका दुई जनालाई पनि समाजबादीमा ल्याउने प्रयास भइरहेको नगर कमिटी अध्यक्ष लामाले बताए ।

