रत्ननगर । कोरोनाको तेस्रो महामारीका कारण रोकिएको रत्ननगर महोत्सवको ११औं संस्करण आइतवारदेखि सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले एक भब्य समारोहका बीच उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट हात्ती सहितको शोभायात्रा निकालिएको थियो । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सव उद्घाटन समारोहमा दुई खालको चिन्ता प्रकट गरिएको छ ।
व्यवसायीले कोरोनाको महामारीका कारण थलिएको अर्थतन्त्रको पुर्नजीवन र नेताहरुले एमसिसीले निम्त्याएको राजनीतिक अस्थिरताका विषयमा चिन्ता प्रकट गरेका थिए । महोत्सवको स्टेजमा नेताहरुबीच एमसिसीको पक्ष र विपक्षमा घम्साघम्सी भएको छ । व्यबसायीहरुले विरामी अबस्थामा रहेको नेपालको अर्थतन्त्रलाई जोगाउन औषधिको रुपमा सरकारले पुर्नकर्जा दिनु पर्ने माग गरेका छन् । नेताहरुले एमसिसीले नेपालको राजनीतिमा धुर्विकरण सृजना गरेको भन्दै सर्मथन र विराध दुबै गरेका छन् । काँग्रेसका नेता तथा पूर्व शिक्षामन्त्री शेषनाथ अधिकारीले एमसिसी नेपालको गरिबी निवारणका लागि ल्याइएको अनुदान सम्झौता रहेकाले अनुमोदन हुनुपर्ने तर्क गरे । एमसिसी सम्झौतामा सबै दलहरुको संलग्नता रहेको भन्दै उनले अनुमोदन गर्नेको विकल्प नहरेको बताए ।
नेता शेषनाथ अधिकारीको भनाईको एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामाले खण्डन गरेका छन् । उनले एमसिसी देशको हितमा नहेको भन्दै स्विकार्न नसकिने बताए । एमसिसी कुनै पनि कोणले हितकर छैन उनले भने यसलाई अमेरिकाले फिर्ता लैजाओस । माओवादी केन्द्रकी नेतृ तथा प्रदेश साँसद कन्चन खनालले एमसिसीका विरुद्धमा खबरदारी गर्न आग्रह गरिन । यथास्थितिमा एमसिसी पास गर्नुहुदैन उनले भनिन् जनस्तरबाट नेताहरुलाई खबरदारी गर्न आवश्यक छ । महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि श्रेष्ठले भने एमसिसीलाई भन्दा निजी क्षेत्रको प्रर्बद्धन र उत्पादनशिल क्षेत्रको विकासलाई जोड दिए । उनले चितवनमा उत्पादनमुलक उद्योग सञ्चालनको लागि प्रदेश सरकारले लगानीको बाताबरण बनाउने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले थलापरेको नेपालको अर्थतन्त्रलाई जोगाउन सरकारले व्यवसायीलाई पुर्नकर्जा उपलब्ध गराउनु पर्ने बताए । कोरोनाले अर्थतन्त्र उठ्नै नसक्ने गरी थलिएको छ उनले भने यसलाई जोगाउन कच्चा पर्दाथको आयतमा भन्सारमा छुट दिनु पर्ने बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले कोरोनालाई आत्मसाथ गर्दै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताए । अब कोरोनासंग डराएर बसियो भने विकास हुदैन उनले भने कोरोनालाई आत्मसाथ गर्दै विकासका काम अगाडि बढाउनु पर्छ ।
कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकुष्ण श्रेष्ठले चितवनलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग गरे । उद्योगमैत्री नीतिको अभावका कारण लगानीको बाताबरण सृजना हुन नसकेको भन्दै उनले यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्सवमा महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने उनको भनाई छ ।
महोत्सवमा ४२५ कक्ष रहने छन । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव निराजन खनालले जानकारी दिए । कार्यक्रममा प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल,उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।


