चितवन १४ फागुन । नेकपा एकीकृत समाजबादीले चितवनको सौराहामा शनिवार निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम गरेको छ । सो पार्टीको जिल्ला कमिटी चितवनले जिल्ला सदस्यहरुको लागि आयोजना गरेको सो कार्यक्रममा उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेश इन्चार्ज केदार न्यौपानेले प्रशिक्षण दिएका थिए ।
सो अबसरमा मुख्यमन्त्री पाण्डेले गठबन्धन नटुट्ने दाबी गर्दैै पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचन सम्म कायम रहने बताए । एमसिसीको विषयलाई तीन महिनापछि सार्ने र निर्बाचन सम्म गठबन्धन कायम राख्ने सहमती भइसकेको उनले खुलासा गरे । एमाले गठबन्धन टुटाउने र देशमा अस्थिरता निम्त्याउने खेलमा लागेको भन्दै पार्टीका उपाध्यक्ष समेत रहेका उनले गठबन्धन टुटाउने एमालेको सपना साकार नहुने बताए । मुख्यमन्त्री पाण्डेले निर्वाचन पछि बन्ने नयाँ सरकारले एमसिसीको विषयमा टुङ्गो लगाउने बताए ।
उनले नयाँ सरकार बनेपछि एमसिसीको विषयमा संसदमा मतदान हुन्छ उनले भने पास हुने वा नहुने सोही बेला थाहा हुन्छ । कार्यक्रममा सो पार्टीका वागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपानेले पार्टीको सिद्धान्त,संगठन निर्माण तथा एमसिसी सम्झौताको वारेमा जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । सो पार्टीका जिल्ला कमिटी सचिव कुलप्रसाद लामिछानेले प्रक्षिक्षण कार्यक्रम आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको बताए ।
मतदाताको बीचमा कसरी जाने,संगठनलाई कसरी बलियो बनाउने,पार्टीलाई जनतासंग जोडेर अगाडि बढ्ने विषयमा छलफल भएको उनले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल,प्रदेश साँसद पार्वती सिलवाल लगायतको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष डा.कृष्णराज पन्तको अध्यक्षतमा भएको कार्यक्रममा २५० जिल्ला कमिटी सदस्य,पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

