चितवन । तेस्रो लहरको कोरोनाको संक्रमण बढेपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा हुने भेलामा रोक लगाएको छ। माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ। सरकारको निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालनको तयारीमा रहेका मेला महोत्सव रोक्न सोमबार आदेश दियो।

सञ्चालन भइसकेको चितवन महोत्सवलाई दुई दिन समय दिएर बन्द गर्न आग्रह गर्‍यो। मेला महोत्सव बन्द गर्ने सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय थियो। कोरोनाको जोखिम बढेको भन्दै मेला महोत्सव रोक्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने आज (बुधबार) चितवन महोत्सव घुम्न पुगे।

प्रशासनको निर्देशनानुसार महोत्सवको आज अन्तिम दिन हो। भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहसहित सिडिओ तामाङ महोत्सव घुम्न पुगेका हुन्। मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सिडिओ तामाङ र मेयर दाहालको आलोचना भएको छ।

विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखियो। त्यति मात्रै नभएर सिडिओ, एसपी र जनप्रतिनिधि नै संक्रमणको जोखिम बढाउन सक्रिय देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार