चितवन : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि जनताको जित भएको भन्दै संसद पुनर्स्थापनाको खुसीमा बुधबार भरतपुरमा विजय जुलुस र सभा गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि चितवनले विजय जुलुस र विजय सभाको आयोजना गरेको हो । विजय जुलुसपछिको विजय सभालाई नेकपा वरिष्ठ नेता एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए । सो कार्यक्रममा बोल्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलाले ओलीको ‘सेटिङ युग’ सकिएको बताएका छन्। सर्वोच्च अदालतको पुनस्र्स्थापना फैसलाले ओलीको सेटिङ ‘टाइँ टाइँ फिस’ भएको बताउँदै उनले भने, ‘ओलीको सेटिङ गयो, समाप्त भयो, ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो।’
कार्यक्रममा बोल्दै उनले नेपालमा अझै पनि न्याय नमरेको प्रतिक्रिया दिए। उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको पनि बताए।
उनले प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरुपयोग गरी जन्मदिन मनाएको समेत आरोप लगाए। उनले ओलीलाई पदमा बस्ने हैसियत नभएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत आग्रहसमेत गरे।


