चितवन । चितवनको सौराहामा १५ औं सौराहा सडक फुड फेष्टिवल सुरु भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) चितवनले आयोजना गरेको सो फेस्टिबलको रत्ननगर नगरपालिकाकी निमित्त नगर प्रमुख विमला दुवाडीले उद्घाटन गरेकी थिइन । फेस्टिवल सुरु हुनुपूर्व गैंडाचोकबाट शोभायात्रा निकालिएको थियो । प्रणय दिवस मनाउन विहानै देखि पर्यटक ओइरिएका हुन । कोरोना भाइरसका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेपछि सडक फुड फेष्टिबल आयोजना गरिएको हो । फेस्टिबलको १५ औं संस्करण हात्तीचोक देखि राप्ती ड्याक सम्मको ६०० मिटर भित्रको सडकमा गरिएको फेस्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए ।
बेलुका ५ बजेदेखि राति १० बजे सम्म पर्यटकलाई विभिन्न खानाका परिकार सहित विभिन्न सांस्कृतिक कार्यक्रममा रमाउन पाउने व्यवस्था मिलाइएको छ । सडक किनारमा ८० वटा रेस्टुरेन्टले विदेशी खाना सहित थारु,नेवारी तथा नेपाली परम्परागत खाना उपलब्ध गराउने छन । चोकचोकमा पर्यटक रमाउन सक्ने वाताबरण बनाइइको छ । तीन दिन सम्म खानाका परिकारसंगै थारु,मगर,गुरुङ,नेवारी समुदायका मौलिक संस्कृति झल्कने झाकी तथा पञ्चेवाजा प्रस्तुत हुने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।
फेस्टिवलमा रत्ननगर कला मन्दिरका कलाकारहरुको पनि विभिन्न प्रस्तुती रहने छ । उद्घाटन कार्यक्रममा निमित्त मेयर दुवाडीले कोरोनाका कारण सुस्ताएको सौराहाको पर्यटनलाई पुर्नजीवन दिन स्थानिय सरकार र व्यवसायीबीचको एकता आवश्यक रहेको बताइन । पर्यटन क्षेत्रको विकासको लागि स्थानीय सरकारको समेत दायित्व रहेको भन्दै त्यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताइन । रेवान सौराहाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो,रेवानका केन्द्रीय उपाध्यक्ष गोकर्ण गिरी,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए । रेवानका महासचिव कृष्ण भट्टले सञ्चालन गरेको कार्यक्रममा फेष्टिवलका संयोजक ध्रुव गिरीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार