चितवन,माघ २६
गोरखा अतिविकट क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरले स्टेसनरी वितरण गरेको छ ।
गोरखाको धार्चे गाउँपालिकामा रहेका सूर्योदय मावि र जनसेवा आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गरेको हो ।
लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष शिवलाल पुरी र पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक विकर्णकुमार श्रेष्ठले सूर्योदय माविका प्रधानाध्यापक लोकबहादुर गुरुङलाई ७० हजार बराबरको स्टेसनरी हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष पुरीले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षाको लागि सहयोग हर्षित भएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गर्नका लागि सुजिता भट्टराई, दीपक विक गोर्खाली, छेसाङ तामाङलगायतले सहयोग गरेका थिए ।
स्टेसनरी हस्तान्तरणका लागि चितवनबाट क्लबका पूर्वअध्यक्षहरु, पदाधिकारी, लियो क्लबका अध्यक्षसहितका पदाधिकारीहरु गोरखा गएका थिए ।

