चितवन :चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायले प्रतिस्पर्धाबाट ७ लाख भन्दा बढी रकम पुरस्कार पाएका छन् । सपना भिलेज सोसियल इम्प्याक्टले संचालन गरेको हरेक कदमको सुरुवात सपनाबाट हुन्छ नामक परियोजना अन्तर्गतको प्रतिस्पर्धाबाट इच्छाकामना गाउँपालिका १ का चेपाङहरुले ७ लाख भन्दा बढी पुरस्कार पाएका हुन ।
सोसियल इम्प्याक्टले गत बर्ष माघ देखि यो परियोजना संचालन गरेको थियो । परियोजनाले विभिन्न क्षेत्रलाई समेटेर प्रतिस्पर्धा गराउने गरेको छ । ब्यक्ति स्वयमको लगानी र मिहिनेतमा प्रतिस्पर्धा पछि उत्कृष्ट ठहरिएकाहरुलाइ पुरस्कृत गर्ने गरिएको छ । पहिलो चरणमा शनिबार अन्तर घर प्रतियोगिता ,अन्त्तर आमा समूह,अन्तर स्वास्थ्य स्वयम् सेवक,उत्कृष्ट किसान,अन्तर निर्णायकलाई नगदले पुरस्कृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले जानकारी दिए । अन्तर घर प्रतियोगितामा ५५ घरधुरीले पुरस्कार पाएका छन् । वडा नम्बर १ मा कुल ६६५ घरधुरी रहेकोमा ५६५ घरधुरीमा परियोजना लागू भएको छ ।
११ वटा टोलबाट ५र५ जनाका दरले पुरस्कार पाए । अन्तर घरधुरी प्रतिस्पर्धामा प्रथम हुने घरले नगद १५ हजार,दोस्रोले १२ हजार,तेस्रोले १० हजार,चौथोले ७ हजार र पांचौले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए । अन्तर घर प्रतियोगितामा घरको सरसफाइ ,करेसाबारी,धुंवारहित चुलो,शौचालय ,छोराछोरीको विद्यालय नियमितता आदिलाइ आधार बनाएर मुल्यांकन गरिएको थियो । हामी सुरुमै नगद दिदैनौ सोसियल इम्प्याक्टका अध्यक्ष गिरिले भने उनिहरुकै मिहिनेतमा परिवर्तन आएपछी हौसलाका लागि पुरस्कृत गरेका हौ । परियोजनाको यो अबधिमा सयपत्रि आमा समूह अन्तर आमा समूह प्रतिस्पर्धामा उत्कृष्ट भएको छ । ११ वटा आमा समुहबिच भएको प्रतिस्पर्धामा उत्कृष्ट भएको सो समुहले नगद ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
अन्तर आमा समुह प्रतिस्पर्धामा सरसफाइ ,हिंसा न्यूनीकरण ,बालबिवाहाको अवस्था ,योजना तर्जुमामा सहभागिता , सामजिक बिकासमा सहभागी आदि मापदण्ड बनाइएको थियो । त्यस्तै अन्तर स्वयंसेवक प्रतिस्पर्धामा उत्कृष्ट भएका सुर्य चेपाङले नगद १५ हजार,उत्कृष्ट फलफुल किसान बनेका ताराकुमारी चेपाङले नगद १५ हजार,उत्कृष्ट निर्णायक बनेकी गिता चेपाङले नगद १५ हजारनै पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले बताए । प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाइ शनिवार इच्छाकामना गाउँपालिका १ कालिङ डांडामा एक कार्यक्रम गरि पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी इच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङ र सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले उनिहरुलाइ प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरे । तीन बर्से परियोजना अबधी भर पहिलो चरणमा पुरस्कृत भएकाहरु पनि फेरि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । सोसियल इम्प्याक्टका अध्यक्ष गिरिको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा इच्छाकामना १ का वडा अध्यक्ष नन्दलाल गिरि, नेकपा जिल्ला सचिवालय सदस्य नारायण प्रसाद अधिकारी , मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे,भारङ टोल बिकास संस्थाका अध्यक्ष सुन बहादुर चेपाङ ,नेपाली काँग्रेस वडा समितिका सचिव हिरा गुरुङ ,सोसियल इम्प्याक्टका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेल लगायतले मन्तब्य राखेका थिए ।
सोही अवसरमा लोक तथा आधुनिक गायक रमेशराज भट्टराईले सांगेतिक प्रस्तुति दिएका थिए । उनले एक दर्जन गितमा प्रस्तुति दिंदा चेपाङ समुदायले नाच्दै साथ दिएका थिए । सोसियल इम्प्याक्टले आर्थिक वृद्धिका लागि फलफूलको बिरुवा ,डाले घांसको बीउ बितरण गरिसकेको छ भने बोयर जातको बोका समेत बितरण गर्ने कार्यक्रम रहेको परियोजनाका कार्यक्रम अधिकृत अनिल अर्यालले बताए ।




