चितवन : चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका थिए ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिनुभयो ।
घटनाअनुसार शनिबार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो । उनीहरुले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शङ्कास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।
अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक सोधपुछसमेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।

