चितवन : सुरक्षा संवेदनशिलतामा बृद्धि भएपछि चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरि (स्वीप अप्रेशन) विशेष अभियान तीव्र पारेको छ ।
विशेष गरि वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत १ महिना अगाडीबाट सुरु गरेको विशेष अभियान तीव्र पारेको छ ।
निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठसहित सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्ती सहित स्वीप अप्रेशन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
सुरक्षा संवेदनशिलतामा बृद्धि भो अधिकृत बरालले भने, चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खट्टिएको नेपाली सेनाको बटुकदल गणलेसुरक्षा गस्तीलाई बढाउनुको साथै सुरक्षाका रणनीति परिवर्तन गरी बिभिन्न विशेष अपरेशन कारवाहीहरु संचालन गरेका छौँ ।
निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । वर्षातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी हुने संरक्षण अधिकृत बरालको भनाई छ ।
निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थनियले नै संरक्षणसंवेदनशीलता नबुझादा समस्या आएको भन्दै कोर ईलाका प्रवेश गर्न निर्देशन पनि गरेको छ । संरक्षणका काम र कार्वाहीमा पछिल्लो समयमा राजनितिक दवावले समेत प्रभाव पारेको भन्दै सबै संरक्षण भावलाई थप जागरुप गर्न संरक्षणमा खलल पुराउने जो कोही पनि निरुसाहित गर्न संरक्षणकर्मीहरुले माग पनि गरेका छन् ।
एकैदिन ३१ व्यक्ति, ९ खोपुवा डुंगा, १४ तियारी जालसहित पक्राउ
यसैविच निकुञ्ज प्रशासन र बटुकदल गणको संयुक्त टोलीले भुसहरघाटदेखि अमलटारीघाटसम्मको क्षेत्रको नारायणी नदीमा रवरबोट मार्फत रात्रीकालिन डुङ्गा पट्रोल तथा स्वीप अपरेशनमा विभिन्न कार्वाही गरेका छ ।
निकुञ्जको कोर इलाकामा पर्ने नारायणी नदीको लामिचौर र डुंगाघाट क्षेत्रबाट माछा मार्नको लागि छाप्रो बनाई बन्दोबस्तीका साथ बसेका ३१ जना मानिसहरुलाई ९ वटा खोपुवा डुंगा, तियारी जाल १४, ढडिया, टर्चलाईट, प्लाष्टिकको पाल, खुर्पा, लत्ताकपडा, गुलेली, भाडाकुडा लगायतका सामाग्रीहरु सहित पक्राउ गरि निकुञ्ज प्रशासनलाई बुझाएको छ । रातको समयमा यसरी निकुञ्जको कोर इलाकामा पर्ने गैडाको मुख्य बासस्थान रहेको क्षेत्रमा प्रवेश गरि माछा मारेको पाईएको हुंदा गैडाको पनि चोरी शिकार गर्न सक्ने भएकोले सुरक्षा चुनौती बढ्दै गएको छ ।
यसरी रातको समयमा कोर इलाकामा प्रवेश गरि माछा मार्दै गर्दाको अवस्थामा पक्राउ पर्नेमा कावासोती १५ नवलपुर बस्ने धन बहादुर मुसहर, मन बहादुर मुसहर, खोर बहादुर माझी, मोतीलाल मुसहर, राम बहादुर मुसहर, विर बहादुर मुसहर, श्याम बहादुर मुसहर, राजकुमार माझी, विर बहादुर मुसहर, उमेश मुसहर, जगदिश मुसहर, राजु मुसहर, मोहन बोटे, लाल बहादुर बोटे, तजविज बोटे, अविनाश बोटे, ज्ञान बहादुर बोटे, श्रवण कुमार बोटे, प्रकाश बोटे, दिलिप बोटे, अरुण बोटे, अर्जुन बोटे, करण बोटे, किरण बोटे, हब्दी बोटे, शुक्र बहादुर बोटे, सिताराम बोटे, कालीराम बोटे, रणबहादुर बोटे, सनिश्चरे बोटे र मायादेवी बोटे रहेको निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा भएको गैडाको चोरी शिकारीको कारण सुरक्षा चुनौती बढेसंगै नियमित गस्तिहरु बढाउनुको अलावा बिशेष सैनिक कारवाहीहरु संचालनमा ल्याएको छ । संवेदनशिल क्षेत्रहरुमा प्रविधिजन्य उपकरणहरु जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिमप्राप्त डगटिमको समेत प्रयोग गरि दैनिक गस्तीको कार्यहरु संचालन गर्दै आइरहेको छ ।

