रत्ननगर : चितवनको रत्ननगरमा भूमिहीन सुकुमबासीहरुलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको छ । कार्तिक २६ गते भूमि सम्बन्धी समस्या सामधान आयोगसंग सम्झौता गरेको सो नगरपालिकामा आइतवार देखि यसको प्रक्रिया सुरु गरेको हो ।
आइतवार सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि तथ्याङक संकलकहरुलाई प्रशिक्षण दिइएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले सुकुमबासीहरुलाई बसोबासका आधारमा लालपूर्जा उपलब्ध गराउने बताए । उनले जो जहाँ बसेको छ त्यसैको आधारमा लालपूर्जा उपलब्ध गराउने गरी काम थाल्न आयोगलाई आग्रह गरे ।
सरकारको नीति पनि त्यही छ उनले भने यो सरकारले सुकुमबासीलाई सजिलै पुर्जा उपलब्ध गराउनु पर्छ । रत्ननगरका मेयर नारायण वनले तीन महिना भित्र लालपूर्जा वितरण गर्ने गरी तयारी गरिएको बाताए । पूर्व तयारीको लागि हामी कुनै कसुर बाँकी राख्ने पक्षमा छैनौं उनले भने तीन महिना भित्रमा लालपूर्जा वितरण गर्ने गरी जनशक्तिले काम गर्ने छ । आयोगकी सदस्य मन्जिला शाक्यले तीन बर्ष भित्र १३ लाख भूमिहीन सुकुमबासीलाई पुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताइन ।
उनले पहिलो चरणमा रत्ननगर नगरपालिका सहित ९ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पुर्जा वितरण हुने जानकारी दिए । आयोगले तीन महिना भित्र पुर्जा वितरण गर्ने गरी तयारी थालेको छ उनले भनिन् त्यसका लागि यहाँका जनप्रतिनिधिहरुको सक्रियता उत्तिकै हुन जरुरी छ । रत्ननगरका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडासचिवहरु ,राजनीतिक दलका प्रतिनिधिहरु तथा सुकुमबासी समुदायको क्षेत्रमा सक्रियाशिल संगठनका प्रतिनिधिहरुलाई तथ्याङ्क संकलनको लागि प्रशिक्षण दिइएको आयोगका प्रबक्ता भीमबहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुलाई सुकुमबासीको पहिचान,तथ्याङ्क संकलन गर्ने तरिका,जग्गा नापी तथा आयोग र नगरपालिकाको काम कर्तब्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए । केन्द्रीय आयोगले राजपत्रमा सुचना प्रकाशित गरेपछि स्थानीय स्तरका सुकुमबासीको तथ्याङ संकलनको काम सुरु हुने र प्रमाणिकरणको काम सकिएपछि जग्गा नापजाँचको काम प्रारम्भ हुने आयोगका प्रबक्ता कार्कीले जानकारी दिए । यो काम तीन महिना भित्र सकेर पुर्जा वितरण सुरु गर्ने योजना रहेको उनले बताए ।
रत्ननगरमा १ हजार ५०४ घरधुरी सुकुमबासी रहेको तथ्याङक नगरपालिकासंग छ । मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेकी थिइन । कार्यक्रम नगर प्रबक्ता राजेन्द्र हमालले सञ्चालन गरेका थिए । करिब एक बर्ष अघि सो नगरपालिकाले लुमन्ती आवासका लागि सहयोग समुहको सहकार्यमा सुकुमबासीको तथ्याङक संकलन गरेको थियो ।
तथ्याङक संकलन गरेकै कारण देशभरबाट १४ वटा पालिका छनौटमा पर्दा रत्ननगर पनि परेको हो । आयोगले रत्ननगर नगरपालिकाका सहित कावासोती,बेलका,कन्काइ,धनगढीमाई,हरिवन,बबई,गुर्भाकोट र कृष्णपुर नगरपालिका तथा रुपागाउँ,बागमती,कन्चन,चौकुने र गौरीगंगा गाउँपालिकामा पहिलो चरणमा लालपूर्जा वितरण गर्दै छ ।

