रत्ननगर : आयुर्वेदिक औषधि सेवन गरेको खण्डमा कोरोना संक्रमण ७ देखि १२ दिन भित्रमा निको हुने रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले बताउनु भएको छ ।
राष्ट्रिय आरोग्य दिवस , धनवन्तरी जयन्ती २०७७ को अवसर पारेर केन्द्रले आज गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
हाल सम्म आयुर्वेदिक औषधिको सेवन बाट रत्ननगरमा १९८ जनाले ७ देखि १२ दिन भित्रमा कोरोना बाट मुक्ति पाएको समेत उहाले बताउनुभएको छ । आयुर्वेदिक औषधिका अतिरिक्त सङ्क्रमितले व्यायाम, प्रणायम गर्न समेत जरुरी रहेको सो कार्यक्रममा जानकारी दिइएको थियो ।
कोरोना सङ्क्रमितका लागि गुडची चूर्ण, एष्टमधु चूर्ण, जेष्ठबासादी चूर्ण र त्रिकटु चूर्ण दिने गरिएको डा. अधिकारी बताउनुहुन्छ । जोखिम समूहअन्तर्गत पर्नेहरुलाई अश्वगन्धा चूर्णले कोरोना सङ्क्रमण हुनबाट जोगाउने समेत उहा थप्नुहुन्छ ।
नेपालमा कोरोना महामारी सुरु हुनेबेला देखिनै केन्द्रले कोरोना नियन्त्रणका लागि विविध गतिविधि अगाडि बढाएको थियो । सुरुवातको चरणमा केन्द्रले माडी लगाएत चितवनका अन्य क्वारेण्टाईनमा रहेका हरुलाई सेवा दिएको थियो । हाल सम्म केन्द्रले असार मसान्त अघि २ हजार ५४४ र श्रावन देखि कार्तिक सम्ममा ४६७ जना संक्रमित तथा जोखिम समुहमा रहेकाहरुलाई सेवा प्रदान गरेको छ ।
कोरोना सङ्क्रमितका परिवार रिपोर्ट लिएर कोरोनाको औषधि लिन आएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि प्रदान गर्ने डा. अधिकारीले जानकारी दिनुभएको छ । संक्रमण सुरु भए यता आयुर्वेदिक औषधिको प्रयोग उपभोक्ताहरुले मनलाग्दी गर्दै आएकोले विभिन्न समस्या समेत निस्किएको बताउदै चिकित्सक तथा वैद्यको सल्लाह साथै स्वास्थ्य परिक्षण गराएर मात्र आयुर्वेदिक औषधि प्रयोग गर्न कार्यक्रममा जानकारी दिइएको थियो ।

