चितवन २५ कार्तिक : चितवनको रत्ननगर नगरपालिकाले नगर प्रमुखसंग उद्यमशिलता प्रर्बधन कार्यक्रम मार्फत विना व्याज,विना धितो कर्जा लगानी गर्ने भएको छ । आर्थिक अबस्था कमजोर रहेका र कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुलाई उद्यमी बनाउन सो नगरपालिकाले उद्यमशिलता प्रर्बधन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उद्यमशिलता प्रर्बधन कार्यक्रमका लागि एक करोड रुपैया विनियोजन गरेको र विना धितो,विना व्याज एक लाख देखि १५ लाख सम्म कर्जा प्रवाह गर्ने योजना रहेको मेयर नारायण वनले बताए । केन्द्र सरकारको सहकार्यमा सञ्चालन कार्यक्रमले आत्मनिर्भरताको लागि उत्पादन मुलक काम गर्ने युवाहरुलाई नगरपालिकाले एक लाख देखि १५ लाख रुपैया सम्म विना व्याज,विना धितो कर्जा प्रदान गर्ने मेयर वनले बताए ।

सो कार्यक्रम सञ्चालनको लागि कार्यविधि तयार भइसकेको र एक हप्ता भित्र सो कार्यक्रम सुरु गर्ने उनले बताए । सो कार्यक्रम सञ्चालनको लागि रत्ननगर नगरपालिकाले नेपाल बैंकसंग सहकार्य गर्ने छ । बैंक मार्फत कर्जा लगानी हुने सो कार्यक्रम अन्तर्गत नेपाल सरकारले महिला उद्यमीको लागि ६ प्रतिशत र पुरुष उद्यमीका लागि ५ प्रतिशत व्याज अनुदान र रत्ननगर नगरपालिकाले उद्यमीका लागि ३ प्रतिशत व्याज अनुदान दिने छ । मेयर वनले कोरोनाको प्रभावका कारण विदेशबाट फर्केका युवाहरुलाई सो कार्यक्रममा समेट्ने योजना रहेको भन्दै कोरोनाका कारण स्वदेश फर्र्किएर केही गर्छू भन्ने भावना भएका युवाहरुलाई प्राथमिकतामा राखेर कर्जा लगानी गरिने बताए ।

सो कार्यक्रम अन्तर्गत तरकारी खेती,गाई,बंगुर,कुखुरा,बाख्रापालन, सिलाइकटाइ,व्यापार,व्यवसाय, मेसिनरी औजार,जग्गा सुधार,साना उद्योग,सेवा व्यवसाय,परम्परागत पेशा,प्राविधिक शिक्षा पढ्ने विद्यार्थी समेतलाई कर्जा लगानी गर्ने कार्यविधिमा उल्लेख छ । नगर प्रमुखसंग उद्यमशिलता प्रर्बधन कार्यक्रमले पहिलो चरणमा नगर भित्रका १०० जनालाई उद्यमी बनाउने गरी कर्जा लगानी गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार