रत्ननगर । नेकपाका नेता रत्ननगर ६ बछौली निवास लोकराज भूषाल माथी अज्ञात समुहले गरेको आक्रमणको प्रयासको नगर तथा वडामा क्रियाशिल राजनीतिक दलले भत्सना गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटी,नेकपाको वडा कमिटी,नेपाली काँग्रेस वडा समिति,राप्रापा वडा समिति र नागरिक समाजका अगुवाले विज्ञप्ती जारी गरी घटनाको भत्सना गर्दै आक्रमणकारीको पहिचान गरी कारबाही गर्न माग गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटीले छुट्टै र वडा स्तरीय राजनीतिक दलले सयुक्त विज्ञप्ती जारी गरेका हुन । नगर कमिटीका अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओमप्रसाद लामिछानेद्धारा जारी विज्ञप्तीमा नगर कमिटीका सचिवाल सदस्य समेत रहेका भूषालको घरमा गत शनिवार राती अज्ञात समुहले भूषाल विरुद्ध नाराबाजी गरेको,ज्यान मार्ने उद्देश्यले धम्की दिएको,घरमा ढुंगा प्रहार गरी लोडफोड गरेको उल्लेख छ ।
वडा स्तरीय राजनीतिक दलहरुले जारी गरेको विज्ञप्तीमा परिवारका अन्य सदस्यहरु विदेशमा रहेको र नेता भूषाल मात्र घरमा रहेको अबस्थामा ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने प्रयास गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भूषाललाई आक्रमणको प्रयास गर्ने समुहको अविलम्ब पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ । कार्तिक २२ गते शनिवार बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यसमिति चयनको लागि भएको इकाइ संयोजकहरुको निर्वाचनमा नेता भूषाल उपविजेता बनेका थिए । निर्वाचन भएकै दिन राती अज्ञात समुहले ज्यान मार्ने उद्देश्यका साथ आक्रमण प्रयास गरेको नेता भूषालले बताएका छन ।

