चितवन : पूर्वी चितवनको कालिका नगरपालिकाका चेपाङ महिलाहरुलाई बजेट सोधखोज तथा सामुदायिक अंकपत्र सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । अण्डेफ़को सहयोगमा डेक नेपाल द्वारा संचालित चेपाङ महिला सशक्तिकरण परियोजना अन्तर्गत स्थानिय निकायले विनियोजन गरेको बजेट र तर्जुमा गरिएको योजनाको बिषयमा सोधखोज गर्ने गरी पोख्त बनाउने उद्धेश्यले सामुदायिक अंकपत्रको अभ्यास गराईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कालिका ९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीले सो कार्यक्रममा बोल्दै वडाले गर्ने बिकास निर्माणका गतिविधिमा चेपाङ महिलाहरुले चासो दिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, स्थानिय सरकार बिकास निर्माणमा अग्रसर छ, आज पहाडी कुना कुनामा बाटो पुगेको छ । तर
चेपाङ समुदायले कुनै पनि बिकासका गतिविधिमा चासो नदिने गर्नाले चेपाङको वास्तविक मुद्धा पत्ता लगाउन आफुहरुलाई गारो भएको छ । आगामी असारमा सम्पूर्ण चेपाङ महिलाहरु सम्बन्धित निकायमा गएर आफ्नो योजना माग गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा वडासदस्य लाल बहादुर गुरुङ , वकिल पुरी , नेपाल चेपाङ संघ कालिका अध्यक्ष कृष्ण बहादुर चेपाङ लगाएतले बोल्नुभएको थियो । अगुवा चेपाङ महिला पैरवी मंच कालिका-९, शक्तिखोरले आयोजना गरेको कार्यक्रमलाई कालिका नगरपालिकाले समन्वय गरेको थियो ।
कालिका ९ रेडक्रस भवनमा आयोजित कार्यक्रम सविता चेपाङले संचालन गर्नुभएको थियो । कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मंच कालिका ९ को अध्यक्ष लक्ष्मी चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

