चितवन : वरिष्ठ हाडजाेर्नि तथा नशा राेग विशेषज्ञ प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित “कम्मरीदेखि कोभिड कहर” गृह विमोचन एवम् विमर्श कार्यक्रम आज वाल्मिकी साहित्य सदनको आयोजनामा रत्ननगरको होटल स्टार बेङ्क्युट निपनिमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले डा. कृष्ण प्रसाद पौडेलले घरमै बसी बसी पनि स्वास्थ्यको जानकारी, समस्या तथा समाधान समेटेको पुस्तक प्रकाशन गर्नुले यसले आम सर्वसाधारणलाई फाईदा पुग्ने बताउदै लेखकलाई शुभकामना समेत प्रकट गर्नुभयो ।
कार्यक्रममा साहित्यकार धनराज गिरी र लक्ष्मण अर्यालले पुस्तकको समिक्षा गर्नुभएको थियो । त्यस्तै साहित्यकार कमल अर्यालले गजल तथा साहित्यकार राजेन्द्र घायलले कविता वाचन गर्नुभएको थियो ।
हास्यव्यंग्य निवन्धकार तथा रत्ननगर २ का वडाध्यक्ष तिलकराज पौडेलले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा वरिष्ठ साहित्यकार केशबराज आमोदी लगाएत पूर्वी चितवनका दर्जन बढी साहित्यकारहरुको को विशेष उपस्थितिमा सम्पन्न भएको थियो । साहित्यकार विश्वनाथ खनालले संचालन गर्नुभएको कार्यक्रममा पुस्तकका सम्बन्धमा लेखक वरिष्ठ हाडजाेर्नि तथा नशा राेग विशेषज्ञ प्राध्यापक डा कृष्णप्रसाद पौडेलले आफ्नो अनुभव तथा बिचार प्रकट गर्नुभएको थियो । कार्यक्रम वाल्मिकी साहित्य सदनका अध्यक्ष वरिष्ठ साहित्यकार रामबाबु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तकमा प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्यामा समाधानको पाटो सम्बन्धि जानकारी प्रदान गरिएको छ । प्रा डा पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।
जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निवन्धको शैलीमा लेखिएका छन् । पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो । लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन् । अन्य लेखहरु भने समसामयिक स्वास्थ्यसम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो ।
अर्थाेपेडिक चिकित्सकले नेपाली भाषामा अर्थाेपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो पुस्तक भएको बताउँदै उहाँले भन्नुभयो, “समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत फाइदा होस् भनी लेखिएका छन् । बचपनदेखि बुढ्यौलीसम्म र महिलाका पृथक समस्या यसमा केलाइएका छन् ।” सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसङ्गहरू कुनै किताबको सारांशजस्तो नभई लेखकको २० वर्षको कार्यअनुभवको आधारमा पनि व्याख्या गरिएकाले जो कसैले सजिलै बुझ्न सक्ने उहाँको भनाइ छ ।
कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफँै समाधान गर्न सकिने प्रा डा पौडेलको भनाइ छ । लेखनकार्यमा रुचि राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ ।
लेखकको यो पुस्तक खुशीहरुको वनवासपछिको दोस्रो हो । लेखक आफैँमा भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ अर्थोपेडिक विषयको प्राध्यापकसमेत रहनुभएको छ । पौडेलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गर्नुभएको छ । उहाँलाई नेपाल अर्थोपेडिक सङ्घको रजत वर्ष विसं २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेशनल अवार्डसमेत प्रदान गरिएको थियो ।