चितवन : पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा पनि पीसीआर परीक्षण ल्याब खुल्ने भएको छ ।

बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैंठकले अस्पतालमा कोरोना परीक्षण गर्ने मेसिन उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले पीसीआर मेसिनसहित त्यसको व्यवस्थापन, सञ्चालन तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रूपैयाँसमेत दिने निर्णय गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।

रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले स्थानीय सरकार, प्रदेश सरकारले ल्याब स्थापना र जनशक्ति व्यवस्थापनका लागि सहयोग गर्दा काम छिटो हुने बताए । उनले ५० लाख रकम ल्याब र आइसोलेसनका लागि संयुक्त रुपमा राख्दा ल्याब स्थापनामा ढिला हुनसक्ने भएकाले स्थानीय सरकारले त्यसमा आवश्यक सहजीकरण गरिदिनुपर्ने बताए ।

पूर्वी चितवनका चार वटा नगरपालिकाले बागमती प्रदेश सरकार समक्ष पीसीआर मेसिन खरिद गर्न र आइसोलेसन व्यवस्थापन गरिदिन सहयोग मागेका थिए । पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रुपमा संक्रमितहरुलाई राख्न रत्ननगर नगरपालिकामा आइसोलेसन केन्द्र तयार गरेका छन् । पूर्वी चितवनमा पीसीआर मेसिन नहुँदा ती नगरपालिकाका शंकास्पद कोरोना संक्रमितको परीक्षण भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेजमा हुँदै आएको छ ।

भरतपुरकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार