काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।
आज देशभरका १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ९४२ जना र होम आइसोलेसनमा ७ हजार ४६२ रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १९ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना गरी २६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा ९० जना रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् । ज्यान जानेको संख्या २७१ पुगेको छ ।

