२७ वर्षको यात्रा : दशैँ मेलादेखि १३ औं रत्ननगर महोत्सवसम्म, तयारी अन्तिम चरणमा

लक्ष्मण सापकोटा/रत्ननगर, पौष १९ ।

चितवनको रत्ननगरमा वि.सं. २०५५ मा दशैँ मेलाबाट सुरु भएर परिष्कृत हुँदै २०५६ देखि रत्ननगर महोत्सवको रूपमा निरन्तरता पाउँदै आएको छ । २७ वर्षको यात्रा पूरा गर्दै यसपटक महोत्सवको १३औँ संस्करण आयोजना हुन लागेको छ । पछिल्ला केही संस्करणहरू हरेक दुई वर्षमा हुँदै आए पनि यसको लोकप्रियता घटेको छैन।

आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म रत्ननगर नगरपालिका–टिकौली चौरमा आयोजना हुने यस महोत्सवको संरक्षक रत्ननगर नगरपालिका रहेको छ भने आयोजक रत्ननगर उद्योग वाणिज्य सङ्घ हो। मुख्य प्रायोजक होटल सेभेन स्टार सौराहा रहेको छ। महोत्सव नजिकिँदै गर्दा ८५ प्रतिशत तयारी पूरा भएको सङ्घले जनाएको छ।

यसपटक महोत्सवमा मह उत्सव, रोजगार मेला र जनकपुरको रामजानकी मन्दिरको झल्को दिने भव्य गेट मुख्य आकर्षण रहनेछन्। महोत्सव परिसरमा महको उत्पादन, गुणस्तर र बजारीकरण प्रवर्द्धनका लागि छुट्टै स्टल र परिसर निर्माण गरिएको छ। युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गराउन आयोजित रोजगार मेला २०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने सङ्घका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो।

प्रवेशद्वारमा पहिलोपटक रामजानकी मन्दिरको आकृतिसहितको भव्य गेट निर्माण भइरहेको छ। कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिनुभयो।

महोत्सवमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टल रहनेछन्। उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी हुनेछ। थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत संस्कृति घरहरू पनि निर्माण गरिएका छन्।

‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ नारासहित रैथाने बालीको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुनेछन्। यसैअन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ। टाँडी बजारलाई चलायमान बनाउन र स्थानीय खानाका परिकार प्रवर्द्धन गर्न यो खाना महोत्सव आयोजना गरिएको सङ्घका पूर्वअध्यक्ष एवं संयोजक ज्ञानबहादुर विसुरालले बताउनुभयो।

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई जोड दिइएको छ। महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ। कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरू पनि सञ्चालन हुनेछन्। उद्घाटनका दिन विभिन्न सङ्घ–संस्थाको सहभागितामा बाजा र झाँकीसहित शोभायात्रा निकालिने छ।

यसैबीच, महोत्सव अवधिभर दैनिक रक्तदान कार्यक्रम पनि हुँदैछ। ब्लड डोनर्स सोसाइटी रत्ननगरले हरेक दिन रक्तदान शिविर सञ्चालन गर्ने भएको हो। सोसाइटीका अध्यक्ष रमेश नेपालका अनुसार, अस्पतालहरूमा रगतको अभाव बढ्दै गएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। “रक्तदान जीवनदान हो भन्ने सन्देश प्रवाह गर्दै दैनिक रक्तदान शिविर सञ्चालन गर्न लागेका हौँ,” उहाँले भन्नुभयो।

समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति बोकेको रत्ननगर महोत्सवले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास आयोजकको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.