काठमाडाैं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको हो। २४ घण्टामा ज्यान गुमाउनेमध्ये तीन महिला र ९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ। संक्रमितमध्ये डिस्चार्ज हुनेको यो संख्या ५५ प्रतिशत हो।

