काठमाडाैं : कोरोना संक्रमणबाट एक ६ वर्षीया बालिकाले पनि ज्यान गुमाएकी छन्।
मन्त्रालयले शनिबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मानिसको कोभिड संक्रमणका कारण मृत्यु भएको बताए।
प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीया बालिकाले ज्यान गुमाएकी छन्। सुनसरीमा नै प्लाज्मा थेरापी गराएपछि धनान निबासी ६७ वर्षका पुरुषको पनि मृत्यु भएको छ। धरान-१५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार मध्यान्ह ज्यान गएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो ।
थेरापीपछि स्वास्थ्यमा सुधार देखिए पनि शनिबार उनले ज्यान गुमाएका हुन्। उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। कोभिड-१९ जितेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरे पनि ज्यान जोगिएन।
त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ। बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको गौतमले बताए। यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ।

