चितवनः पुरानो मेडिकल कलेजमा उपचाररत दुई जनाको मृत्यु भएको छ । मृत्यु हनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का ७७ वर्षिय विष्णु प्रसाद श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ३ का ५६ वर्षिय राम बहादुर तामाङ रहेका छन् । तामाङ ज्वरो र जण्डिस सम्बन्धि उपचारका लागि यहि भदौ ३ गते अस्पतालमा भर्ना भएका थिए । उनको विहिबार साँझ ५ वजे मृत्यु भएको थियो ।
श्रेष्ठ निमोनिया, दम र खोकीको उपचारका लागि भदौ ३ गते नै अस्पतालमा भर्ना भएका थिए । उनको विहिबार राती ११ वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको नमुना परिक्षणका लागि स्वाब संकलन गरि चितवन मेडिकल कलेज र तामाङको भरतपुर अस्पताल कोभिड प्रयोगशाला पठाईएको छ ।
त्यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।
दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।
आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ ।
योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।

