चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । प्रशासनले आज एक सुचना जारी गर्दै निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न जिल्लाबासीलाई आग्रह गरेको हो । प्रशासन कार्यालयले खाद्यन्न खरिदका लागि जाँदा सवारी साधनको प्रयोग नगर्न आग्रह गरेको छ ।
खाद्यान्न खरिदको बहानामा टाढा जाने र सवारी साधन प्रयोग गर्ने गरेको पाइएकोले पैदल मार्फत नजिकैको पसलबाट मात्र खाद्यान्न खरिद गर्न जारी सुचना मार्फत आग्रह गरिएको हो । यस्तै प्रशासनको आग्रह अवज्ञा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत सुचनामा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि माडी नगरपालिका बाहेक जिल्लाका ६ स्थानीय तहमा निषेधाज्ञा लागु गरिएको छ । भरतपुर महानगरपालिकामा गत शनिबार तथा अन्य स्थानीय तहमा आइतबारदेखि भाद्र ५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको हो । यस अवधिभर बिहान ५ देखि ८ तथा बेलुका ५ देखि ८ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने प्रशासनले जनाएको छ ।

