कोरोना समुदायस्तरमा समेत पुगेका लक्षणहरु प्रशस्त देखिन थालेकाले यसलाई नियन्त्रणमा लिन एक साता लकडाउन गर्न स्वास्थ्य कार्यालयका अधिकारी तथा भरतपुर अस्पतालका मेसुले प्रस्ताव गरेका छन् ।
भरतपुर अस्पतालका मेसु डा. तिवारीले कोरोना समुदायमा मास ट्रान्समिसन हुन नदिन एक साता सबै कुरा बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई प्रस्ताव गरिएको बताए । ‘अहिले संक्रमितका परिवारका सदस्यलाई पनि जाँचौं, केही समुदाय स्तरमा पनि नमूना संकलन गरेर हेरौं, एक सातामा यसको एउटा चित्र देखिन्छ,’ मेसु डा. तिवारीले भने, ‘कतिपयलाई लक्षणविहीन संक्रमण भएको तर थाहा नभएपछि एक साताभन्दा बढी समय घरमा बस्दा उसले अन्यत्र फैलाउँदैन, स्वयंमा पनि भाइरस कमजोर बन्छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालहरु जोखिमको पहिलो केन्द्र भएकोमा विषेश सावधानी अपनाउन भनिएको बताए । बिरामी नभई वा सामान्य स्वास्थ्य सम्बन्धी समस्या पनि अस्पताल जाने काम रोकिनुपर्ने प्रजिअ भट्टराईको भनाइ छ ।
निषेधाज्ञा लगाउनुपर्ने परिस्थिति तयार अझै भैनसकेको र परिस्थिति जटिल बन्ने देखिएमा प्रशासनले निषेधाज्ञा जारी गर्ने प्रजिअ भट्टराईले बताए । जिल्लाभित्र चल्ने छोटो तथा लामो दूरीका सवारी साधन रोक्ने, होटल तथा रेष्टुरेन्टमा कडाइ गर्ने, आवातजावत रोक्ने, बैंक तथा वित्तीय संस्थाहरुमा विषेश सावधानी अपनाउने लगायतका कामलाई यथावत राखिएको प्रजिअ भट्टराईले बताए ।

