काठमाडाैं : नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको छ। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृतकको संख्या ९५ पुगेको छ। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८ रहेका छन्।
पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ९५ पुग्यो
नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।
मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा आज थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

