भरतपुर : चितवनमा दिनहूं कोरोना संक्रमित बढिरहेका छन् । चितवनको सातै पालिकामा संक्रमित भेटिएका छन् । इच्छाकामना गाउँपालिकामा पहिलोपटक संक्रमित भेटिएका हुन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हालसम्म चितवनका मात्र १४५ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए । संक्रमितको संख्या सबैभन्दा बढी भरतपुर महानगरपालिकामा रहेको छ । सूचना अधिकारी पौडेलका अनुसार भरतपुर महानगरपालिकामा मात्र हालसम्म ८२ जना कोरोना संक्रमित भेटिएका छन् ।
सबैभन्दा कम संक्रमित इच्छाकामना गाउँपालिकामा देखिएको छ । सूचना अधिकारी पौडेलले इच्छाकामनामा हालसम्म एक जनामा मात्र कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार हालसम्म रत्ननगरमा ३ जना, कालिकामा ५ जना, खैरहनीमा ५ जना, राप्तीमा ८ जना, माडीमा ४१ जना संक्रमित भएका छन् ।
हाल भरतपुर अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सूचना अधिकारी पौडेलले भने, ‘संक्रमित आउने क्रम जारी नै रहेको छ, भरतपुर अस्पतालमा ७५ जनासम्म कोरोना संक्रमितको उपचार गर्न सक्ने क्षमता छ ।’

