चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी चितवनको लोथरदेखि सौराहासम्म स्थलगत निरीक्षण गरेका छन् । प्रचण्डले गृह जिल्ला पूर्वी चितवनकै राप्ती, खैरहनी र रत्ननगर नगरपालिकासगँ जोडिएको लोथरदेखि सौराहासम्मको राप्ती ड्याक निरीक्षण गरेका हुन् ।
शनिबार आफ्नो निर्वाचन क्षेत्रमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका प्रचण्डले आइतबार चितवन क्षेत्र नम्बर १ र २ मा विकास निर्माणसँगै बाढी कटान तथा डुबान क्षेत्रको स्थलगत निरीक्षण गरेका अध्यक्ष प्रचण्डको सचिवालय सचिव गंगा दाहालले जानकारी दिईन् । निरीक्षणका क्रममा खैरहनी स्थित जिन्दगानीघाटमा खैरहनीका मेयर लालमणि चौधरीले राप्ती ड्याक निर्माण पश्चात यस क्षेत्र सुरक्षित रहेको भन्दै सौराहासम्म पूर्ण हुन बाँकी ड्याक निर्माणमा पहल गरिदिन आग्रह गरे ।
रिगंरोडको रुपमा पर्यटकीय स्थलको रुपमा गर्ने अवधारण अनुसार वस्ती र पर्यटकीय ठाउँ जोगाउन ड्याम निकै उपयोगी देखिएको र यसलाई थप संरक्षण र विकासमा सहयोग गर्ने अध्यक्ष प्रचण्डले सो अवसरमा प्रतिवद्धता जनाए । साथै उनले दिर्घकालिन योजनाका साथ तटबन्धनलाई थप बजबुत बनाई नारायणी नदीसम्मको रिगंरोडमा जोड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
तत्कालिन जिल्ला विकास समितिका कारण वातावरण प्रभाव मुल्यांकन (आईईई ) मा समस्या हुँदा ड्याक निर्माण कार्य अघि बढ्न नसकेको मेयर चौधरीले बताए । चालु आर्थिक वर्षदेखि नेपाल सरकार, स्थानीय तह र स्वीस सरकार मिलेर ड्याक निर्माण गरेको मेयर चौधरीले प्रचण्डलाई जानकारी गराए । स्वीस सरकारको सहयोगका कारण ड्याक निर्माणपछि बस्ती सुरक्षित रहेको र जिविकोपार्जनमा टेवा मिलेको मेयर चौधरीले बताए ।
लोथरमा राप्तीकी मेयर प्रभा बरालले राप्ती ड्याकमा निर्माण सुरु भएको आरसिसि ड्याक निर्माणका बारे जानकारी गराइन् । वर्षेनी डुबानमा पर्दै आएको पर्यटकीय क्षेत्र सौराहालाई सुरक्षित राख्नका लागि ड्याक निर्माणमा सहयोग गरिदिन मेयर नारायण वनले पूर्व प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।
साथै वर्तमान विषम परिस्थितीमा यहाँका हात्तीहरु भोकै रहनुपर्ने बाध्यता रहेको भन्दै निकुञ्ज क्षेत्रभित्र पर्ने निजी जग्गामा हात्ती चरणको व्यवस्थामा सहजीकरण गर्न समेत मेयर वनले आग्रह गरे । सौराहापछि वद्रेनी,खोरसोर सम्म पुगी प्रचण्डले जंगली जनावरबाट हुने क्षती र बाढीबाट हुने क्षतीका बारे जानकारी लिएका थिए ।
यसअघि आईतबार नै प्रचण्डले कालिका नगरपालिकाको बाढी डुवान क्षेत्रको समेत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रदेश सांसदहरु कृष्ण प्रसाद खनाल, घनश्याम दाहाल, भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, खैरहनी मेयर लालमणि चौधरी, कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगर मेयर नारायण वन, राप्ती नगरपालिका मेयर प्रभा वराल, उपमेयरहरु इमानसिंह लामा, विमलादेवी दुवाडी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, शसस्त्र प्रहरी वल नेपाल गढीमाई बाहिनी भण्डारा चितवनका डिआईजी कृष्णभक्त व्रहचार्य, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।






