गुल्मी : कोरोनाबाट गुल्मीमा एकजनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उपचारको क्रममा निधन भएको उपचारमा खटिएका डा। कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएका थिए । कोसिस गर्दागर्दै पनि बिरामीलाई बचाउन नसकिएको डा। भुसालले बताए । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो ।

