चितवनमा आज (शनिबार) थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं.६ केशरबागका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।
ती संक्रमित पुरुष हिजो (शुक्रबार) पुष्टि भएका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलाका जेठो छोरा हुन् । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए । पहिलोपटक परीक्षण गर्दा श्रीमान् र श्रीमतीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसक्रममा छोरामा संक्रमण देखिएको थिएन ।
तर शुक्रबार पुनः स्वाबको परीक्षण गर्दा आज (शनिबार) छोरामा पनि कोरोना पोजिटिभ देखिएको अस्पतालका अध्यक्ष डा.अधिकारीले बताए । योसंगै चितवनमा संक्रमितको संख्या ६ पुगेको छ । जसमा २ जना निको भैसकेका छन्
७४ वर्षीय पुरुषको क्यान्सरको उपचारका लागि उनीहरु तीनजना नै दिल्ली पुगेका थिए । उनीहरु तेस्रो चरणको केमो चढाएर जेठ ३ गते कपिलवस्तुको कृष्णनगर नाकाबाट एम्बुलेन्समा चितवन आएका थिए । दिल्लीबाट नाकासम्म भारतीय एम्बुलेन्स र कपिलवस्तुबाट सोही ठाउँको एम्बुलेन्सबाट उनीहरु चितवन आएका थिए । शुक्रबार संक्रमण पुष्टि भएसंगै केशरबाग क्षेत्रमा प्रशासनले सील गरेको छ । त्यहाँ शुक्रबारदेखि नै हिडडुलमा रोक लगाएको छ ।
यस्तै शुक्रबार नै उनीहरुको कन्ट्याम्ट ट्रेसिङ गरिएको छ । तीन जना घरमा संगै बसेका थप ट्रेसिङ गर्न नपर्ने भएको छ । उनीहरुको परिवारमा कुल आठ जना रहेका छन् । अब बाँकी पाँच जनाको एक सतापछि परीक्षण गरिने भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । श्रोत-नारायणी अनलाईन

