नेपाल बिगत ५१ दिन देखि लकडाउनमा छ । जनजीवन त प्रभावित भएको छ नै साथमा संक्रमितको संख्या पनि बढिरहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालमा २१९ जना कोरोना संक्रमित पहिचान भैसकेका छन् भने अझै कति थपिने हुन् त्यसको अनुमान सम्म पनि लगाउने स्थिती छैन । यसै बीच चितवन भने कोरोना मुक्त जिल्ला बनेको छ । पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनमा कोरोना संक्रमण नभएको पुष्टि भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । चितवनमा २ जनामा संक्रमण देखिएकोमा २ जना नै निको भएका छन् ।६३ बर्षिय महिला अस्पताल बाट डिस्चार्ज भएता पनि एक–दुई हप्ता उनी घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको छ । यसअघि वैशाख ११ गते भरतपुर कोभिड–१९ प्रयोगशाला, १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं, २१ गते हेटौंडा र २७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरि ४ पटक पिसिआर प्रविधिबाट स्वाब पुनः परीक्षण गर्दा ती महिलाको चारवटै रिपोर्ट पोजेटिभ आएको थियो ।

चितवनकी महिला डिस्चार्ज भएसँगै अब चितवनमा कोही पनि कोरोना संक्रमित छैनन् । पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको समेत गरेर उनको सोमबार र मंगलबारको क्रमशः छैटौँ र सातौं रिपोर्ट हो । उनलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेको क्याविनमा राखेर उपचार गरिएको छ । कोरोना पोजेटिभ देखिए पनि उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले जानकारी दिए ।

महिलाको वैशाख ३ गते गरिएको र्या्पिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा(छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षण रिपोर्टको आधारमा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

चैत ३ गते बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौंदेखि चितवन घरसम्म आएका थिए । नेपालमा कोरोना संक्रमण देखिए पनि यसले खासै असर भने दखिएको छैन । यद्यपि चिकित्सकहरूले यसलाई सामान्य रूपमा नलिन सुझायका छन् । सबैमा उच्च सतर्कता अपनाउन उनीहरूले अनुरोध समेत गरेका छन् । विश्वभर कोरोनाको कारण लाखौंले ज्यान गुमाएको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार