बैशाख १०, बुधबार
चितवन : पछिल्ला केहि दिन यता हावाहुरी सहित असिनापानीले किसानको बालि नष्ट गरिरहेको छ । कोरोनाको कहर झेलिरहेको कृषि व्यवसायले असिनाको पनि सामना गरिरहेको छ साथै चट्याङ लागेर मानिसको ज्यान समेत गईरहेको छ । यसै बीच आज पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम केही दिनदेखि बदली भएको हो । अहिले मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भएको मौसमविद बताउछन ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएपनि पहाडी भू–भागका धेरै स्थान र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
पछिल्ला केहिदिनको असिनापानीले मकै बाली, केराखेति, तरकारी खेती तथा अन्य बालीनालीमा ब्यापक क्षती पुर्याएको छ । असिनापानीले तरकारीबालीमा ठुलो क्षति पुर्याएको पूर्वी चितवनका किशान चिन्तामणी आचार्य बताउनुहुन्छ । यसै सन्दर्भमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सान व्यहोर्नु परेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताउनुभएको छ ।


