चितवन : गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।
जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिनुभयो । उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उहाँले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिएको जानकारी दिनुभयो । समयमानै उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरु पहिचान गरी क्वारेन्टाइनमा नराखिए चितवनमा भयावह अवस्था हुने कुरामा दुईमत नभएको जानकारहरु बताउछन ।

