मंसिर ५ चितवन
भरतपुर महानगरपालिका वडा नम्बर ४ सृष्टि चोकमा प्राकृतिक चिकित्सालय
सञ्चालनमा आएको छ । माटो, पानी, जडिबुटीसहितका प्राकृतिक तत्वबाट बिरामीको
उपचार गर्ने उद्देश्यले नेटफ्रेस हस्पिटल प्राली सञ्चालनमा आएको हो ।
हस्पिटलले बुधबार पत्रकार सम्मेलन गर्दै सेवा शुभारम्भ गरिएको जानकारी दिएको
छ । दुई करोड रुपैयाँको लागतमा नेपालमा नै नभएका प्रविधि भित्र्याएर
बिरामीको उपचार गर्न सुरु गरिएको हस्पिटलका प्रमुख गोविन्द हुमागाईले बताए ।
१० शैयाको अस्पताल सञ्चालनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग अनुमति
मागिएको हुमागाईले बताए । गरिब तथा असहाय बिरामीको लागि ऐनअनुसार
निशुल्क गर्ने उल्लेख गर्दै हुमागाईले बिरामीहरु आवासीय रुपमा नै बसेर उपचार
गर्न सक्ने व्यवस्था गरिएको बताए । चार सय रुपैयाँको टिकट काटेर चिकित्सकसँग
परामर्श लिन सकिने अस्पतालले जनाएको छ । डाक्टर सब्ग्राम पुरीकाअनुसार पञ्चकर्म
विधि तथा विभिन्न थेरापीको माध्यमबाट उपचार गरिनेछ । अस्पतालमा जनरल बेड,
क्याबिन तथा विशिष्ट व्यक्तिका लागि समेत दुई वटा बेड छुट्याइएको पुरीले
बताए । अन्य प्राकृतिक चिकित्सालयको भन्दा न्यून शुल्कमा बिरामीको उपचार
गरिने उल्लेख गर्दै पुरीले बिरामीलाई चिकित्सकको निर्देशन अनुसार शुद्ध
अर्गानिक खाद्यान्न खुवाइने बताए । ११ जना सञ्चालकहरु रहेको सो अस्पतालमा तीन
जना चिकित्सक कार्यरत छन् । नेपालको नमूना अस्पताल बनाउने तयारीका साथ सञ्चालन
गरिएको नेटफ्रेस अस्पतालले करिब तीन बिघा क्षेत्रफलमा एक सय ६७ प्रकारको
जडिबुटी समेत लगाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा भगवानचन्द्र ज्ञवालीले
अस्पतालमा मानसिक र दीर्घ रोगका बिरामीहरु बढी आउने गरेको बताए । अस्पतालले
बिरामीलाई परामर्शका साथै योग शिक्षा समेत प्रदान गर्ने ज्ञवालीले बताए ।
बिरामीहरुको अप्रेशन विना नै प्राकृतिक तथा अन्य विविधबाट उपचार, दीर्घ रोगीको
उपचार, चर्मरोगहरुको उपचार सुरु गरिएको ज्ञवालीको भनाइ छ । अस्पतालले प्राकृतिक
आहारसहितको अन्तरंग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक
चिकित्सा, अकुपंचर अकुप्रेसर थेरापी, तनाव व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ


