१७ कार्तिक २०७६,
भरतपुर,
शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेश्रो दिन आज चर्चित गायिका तृष्णा गुरुङ, लोक तथा दोहोरी गायक रामजी खांड, गायिका देवी घर्ति मगर, जादुगर बलराम सरकार, रास्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान चितवन लगाएतको प्रस्तुतिले दर्शकको ध्यान खिचेको थियो । तिन सय व्यवसायिक स्टल रहेको नारायणी महोत्सवले गएको २ दिन आशातित सफलता प्राप्त गरेको छ । कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको लागि काम गरिने आयोजक रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा र्याफ़्टिङ्ग तथा स्टीमर चढ्ने सुविधा समेत रहेको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

