६ आश्विन २०७६,
इच्छाकामना गाउँपालिका,
रामु आचार्य ।
चेपाङ महिला अरु जातजातिको तुलनामा धेरै अगाडी नबढेको भए पनि अब पहिलेको जस्तो पछाडी नपरेको उनीहरु बताउछन । डेक नेपाल सौराहाले आज इच्छाकामना गाउँपालिका ६ मा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । बिकासको सामान्य पूर्वाधार समेत नपुगेको बिकट पहाडी स्थानमा आफुहरुको बसोबास भएको हुदा आफुहरुलाई अगाडी बढ्न कठिन भएको तर्क उनीहरुको थियो ।
इच्छाकामना गाउँपालिका ६ मा बस्ने बिमला चेपाङ थप्छिन करिब ४ बर्ष अगाडी डेक नेपालले ल्याएको परियोजना “चेपाङ महिला सशक्तिकरण” उनीहरुको सकारात्मक परिवर्तनको श्रोत हो । डेक नेपालले ७२ साल देखि २०७४ साल सम्म संचालन गरेको “चेपाङ महिला सशक्तिकरण” कार्यक्रमले आशातित सफलता प्राप्त गरेसंगै हाल अण्डेफ़को सहयोगमा साप नेपाल र नेपाल चेपाङ संघको साझेदारीमा “लैंगिक उत्तरदायी सुशाशन प्रबर्दनका लागि युवा चेपाङ महिला सशक्तिकरण” कार्यक्रम सुरु गरेको छ । कार्यक्रमले यस अघि प्रत्येक वडामा ५०/५० जना महिलाहरु सदस्य रहने गरि अगुवा चेपाङ महिला पैरवी मंच गठन गरेको थियो । उक्त मंचले चेपाङ महिलाहरुको विभिन्न मुद्दाहरु पहिचान गरि , स्थानीय स्तरमा छलफल गरि समाधानको बाटो खोज्ने गरेका छन् । सरोकारवाला निकायहरु संग विभिन्न बिकाशको मुद्दाहरु उठान गरि पैरवी समेत गर्ने गरेका छन् । यो परियोजना इच्छाकामना गाउँपालिकाको १, २, ३, ५, ६ र ७ नम्बर वडा त्यस्तै कालिका नगरपालिकाको ३, ८, ९, १० र ११ नम्बर वडाहरुमा संचालन भैरहेको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले दिए ।
सोहि कार्यक्रम अन्तर्गत असोज २९ र ३० गते हात्तिबांगमा, कार्तिक १ र २ गते वोर्ल्यांगमा ,कार्तिक ४ र ५ गते फिस्लिंगमा लैंगिक उत्तरदायी र सामाजिक जवाफदेहिता सम्बन्धि २ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भैसकेकोमा आज इच्छाकामना ६ कालीखोलामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो । ४५ जना अगुवा चेपाङ महिलाहरु सहभागी भएको कार्यक्रममा सामाजिक जवाफदेहिता, लैंगिक समानता, पैरविको आवश्यकता लगाएतका बिषयमा प्रशिक्षण प्रदान गरिएको थियो । दोश्रो दिनको कार्यक्रम भोलि पुन : सोहि स्थानमा हुने छ ।















