२९ आश्विन २०७६,
चितवन : चितवनको बिरेन्द्रनगरमा प्रथम राप्ती महोत्सव भोली विहीवार देखि सुरु हुदैछ । राप्ती उद्योग वाणिज्य संघ र राप्ती नगरपालिकाको सयुक्त आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक राप्ती उद्योग वाणिज्य संघले महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको भन्दै बुधवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जानकारी दिएको छ । विहीवार आज उद्घाटन अघि राप्ती नगरपालिकाको कार्यालयदेखि महोत्सव स्थल बीरेन्द्र आर्दश माध्यमिक विद्यालयको चौर सम्म शोभा यात्रा निकालिने महोत्सवका संयोजक एवंम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंलले जानकारी दिए । नगर भित्रका विभिन्न संघसंस्था,विभिन्न जातजातिको संस्कृति र पहिचान झल्कने गरि शोभा यात्रा निस्कने संयोजक कडेंलले वताए । कृषि,पर्यटन,उद्योग र व्यापार,राप्ती विकासको आधार भन्ने नाराका साथ आयोजित महोत्सव कार्तिक ९ गते सम्म चल्नेछ । पहिलो महोत्सवलाई ऐतिहासिक वनाउने लक्ष्य छ महोत्सवका संयोजक कडेंलले भन्छन् – नगरपालिकाको नारा अनुसारनै कृषि र पर्यटनलाई जोड दिएका छौ । महोत्सवमा करिव २५० वटा स्टल रहने छन् । महोत्सवमा ५ करोडको कारोवार हुने लक्ष्य रहेको छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० र विद्यार्थीका लागि रु ४० को व्यवस्था मिलाईएको प्रचार समिति संयोजक दिनेश सेढाईले जानकारी दिए । सेढाईका अनुसार महोत्सवको प्रचार प्रसार स्वरुप बुधवार पूर्वी चितवनमा मोटरसाईकल र्यालि निकालिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु प्रमोद खरेल,वद्री पंगेनी,पशुपति शर्मा,दुर्गेश थापा,रामजी खाँड,रमेशराज भट्टराई,ज्योति मगर,प्रकाश सपुत,प्रिति आले,कमल खत्री,खुमन अधिकारी,पल्पसा डंगोल लगायत हास्य कलाकारहरुको समेत दैनिक रुपमा प्रस्तुती रहने सास्कृतिक समिति संयोजक प्रदिप उप्रेतीले जानकारी दिए । (साभार-सौराहा अनलाईन)

