रत्ननगर, असार २२ – विश्व वातावरण दिवसको अवसरमा रत्ननगर–१४ स्थित दिव्यज्ञान एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्राचार्य गणेश शर्माका अनुसार गुञ्जमान हस्पिटलदेखि डुम्री चोकसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका स्काउट तथा इको क्लबमा आबद्ध विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

वातावरण संरक्षण, सरसफाइप्रति जनचेतना अभिवृद्धि तथा विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। अभियानका क्रममा सडक तथा सार्वजनिक स्थलमा रहेका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरणीय सरसफाइलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवाको भावना विकास हुनुका साथै वातावरण संरक्षणप्रति जिम्मेवार नागरिक बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित उक्त अभियानले स्थानीय समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार