रत्ननगर, २१ भदौ ।
जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतन रत्ननगर–१० ले आज रत्ननगरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ६ जना महिला सहित ४४ जनाले रक्तदान गरेका छन्। “म सेवा गर्छु” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले चितवन स्वास्थ्य नगरीको रूपमा स्थापित भएको सन्दर्भमा एकता शिशु निकेतनले हरेक वर्ष आयोजना गर्ने रक्तदान कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले थप्नुभयो, “यो विद्यालयले विद्यार्थीहरूमा मानवताको भावना जगाउनुका साथै रेडक्रसका हरेक गतिविधिमा देखाएको सक्रियता र सहयोगप्रति हामी आभारी छौँ।”
कार्यक्रममा विद्यालयका प्राचार्य तथा जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनका संरक्षक बालहरि देवकोटाले रेडक्रसका हरेक कार्यमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि रक्तदान र मानवसेवाका कार्यमा निरन्तर जोडिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विजयराज खनाल, अनु गौतम, आशा बहादुर गुरुङ, कृष्ण आचार्य लगायतले समेत सम्बोधन गर्नुभएको थियो। जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतनकी अध्यक्ष अर्जिना आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


