६ भाद्र, रत्ननगर ।
रत्ननगर–४ मा रहेको न्यू क्यापिटल कलेजले आयोजना गरेको अन्तर आमा समूह पूर्वी चितवन स्तरिय तीज गीत प्रतियोगितामा कालिका भजन समूहले प्रथम स्थान हासिल गरेको छ । ९ वटा समुहले भाग लिएका उक्त प्रतियोगितामा जनचेतना आमा समूह खैरहनी दोश्रो, हंशेश्वर आमा समूह खैरहनी तेश्रो र धौलागिरि आमा समूह खैरहनीले सान्त्वना स्थान हासिल गरेका छन् । विजयी टोलीहरूले क्रमशः नगद रु. १७,०००, रु. १३,०००, रु. १०,००० र रु. ५,००० सहित मायाको चिनो र प्रमाण-पत्र प्राप्त गरेका थिए ।

कार्यक्रम अन्तर्गत कलेजका विद्यार्थीहरुको अन्तर्निहित नृत्यकला समेत प्रस्तुत गरिएको थियो । संस्कृति जगेर्ना साथै विद्यार्थीहरुको माझमा मौलिक परम्परा, पर्वको महत्व समेत झल्काउन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टिकाराम लामिछाने, सदस्य प्रकाशमणि सापकोटा र खैरहनी नगर शिक्षा समितिका सदस्य मीरा खरेल रहेका थिए ।

कार्यक्रमको सभापतित्व डा. तारा प्रसाद ढुंगानाले गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवन शाखाका पूर्व अध्यक्ष आनन्द रन्जित प्रमुख अतिथिको रूपमा रहेका थिए । कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन तथा समन्वय श्रद्धा अर्यालले गरेकी थिइन् ।

तीजको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै स्थानीय आमा समूहहरूको प्रतिभा प्रस्तुत गर्न यो कार्यक्रमले समुदायमा उत्साह र एकता थपेको कलेजले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार