रत्ननगर, साउन ५ ।

पूर्वी चितवनको रत्ननगर वडा नं. ४ मा अवस्थित न्यू क्यापिटल कलेजले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने भएको छ। कलेजले सोमबार पत्रकार सम्मेलन आयोजना गरी वर्षभरि २२ वटा शीर्षकमा विविध कार्यक्रम सञ्चालन गरी रजत महोत्सव मनाउने जानकारी दिएको छ।

वि.सं. २०५७ मा १७ जना शिक्षक र ८१ जना विद्यार्थीबाट सुरु भएको यो कलेज हाल ५५ जना शिक्षक, १५ जना कर्मचारी र १,०२३ जना विद्यार्थीको शैक्षिक केन्द्र बनेको छ। व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले ‘कमाउँदै पढ्दै’ भन्ने नारालाई आत्मसात् गरेको छ। जीवन उपयोगी शिक्षामा जोड दिँदै आएको कलेजले विद्यार्थीहरूलाई रोजगारीका अवसर सिर्जना गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिएको प्राचार्य भूपेन्द्र धितालले बताए।

रजत महोत्सवको औपचारिक सुरुवात साउन ७ गतेदेखि स्रष्टा सम्मान कार्यक्रममार्फत हुनेछ। रजत महोत्सवको अवसरमा रत्ननगरका साहित्यकार विश्वनाथ खनाललाई २५ हजार रुपियाँ राशिको पुरस्कारसहित सम्मान गरिने प्राचार्य धितालले जानकारी दिए।

रजत महोत्सवअन्तर्गत रजत स्तम्भ निर्माण, स्मारिका प्रकाशन, अन्तरविद्यालय चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, च्यारिटी शो, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, फुड फेस्टिभलजस्ता कार्यक्रम तय गरिएका छन्।

पत्रकार सम्मेलनमार्फत कलेजले छात्रवृत्ति विशेष कार्यक्रम पनि सार्वजनिक गरेको छ। रजत महोत्सवको अवसरमा हरेक वर्ष आर्थिक अभावका कारण पढ्न नसक्ने विद्यार्थीहरूको पहिचान गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने प्राचार्य धितालले बताए।

रजत महोत्सवअन्तर्गत खेलकुदका विभिन्न कार्यक्रम, म्याराथन प्रतियोगिता, श्रावण १५ गते विद्यालय स्थापना दिवस, अन्तरआमा समूह तीज गीत प्रतियोगिता, सार्वजनिक क्षेत्र सरसफाइ कार्यक्रम, वृक्षरोपण कार्यक्रम, प्रतीक्षालय निर्माण, तथा शिक्षक र संस्थापक सदस्य सम्मान कार्यक्रम आयोजना गरिनेछ।

रजत महोत्सवका दौरान आयोजना हुने यी कार्यक्रमहरूले शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने प्राचार्य धितालको विश्वास छ। न्यू क्यापिटल कलेजले गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिएको छ।

कलेजले जीवन उपयोगी शिक्षातर्फ इलेक्ट्रिसिटी, प्लम्बिङ र कफी बनाउने कला सिक्न चाहने विद्यार्थीहरूका लागि छुट्टै कक्षा सञ्चालन गरेको छ। यस्ता व्यावसायिक सीपमूलक कक्षाहरूले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन र शिक्षासँगै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने प्राचार्य धितालले बताए।

रक्तदान, स्वास्थ्य शिविर र सरसफाइ कार्यक्रमले सामुदायिक सेवालाई प्राथमिकता दिनेछ भने चित्रकला, हाजिरी जवाफ, वक्तृत्वकला र तीज गीत प्रतियोगिताले विद्यार्थी र समुदायको रचनात्मकता र प्रतिभालाई प्रोत्साहन गर्ने उनको विश्वास छ। विज्ञान प्रदर्शनी र फुड फेस्टिभलले नवप्रवर्द्धन र सांस्कृतिक विविधतालाई उजागर गर्नेछ भने म्याराथन र खेलकुद कार्यक्रमले शारीरिक स्वास्थ्य र अनुशासनलाई प्रोत्साहन गर्ने धितालले बताए।

रजत स्तम्भ र प्रतीक्षालय निर्माणले कलेजको भौतिक पूर्वाधारमा योगदान पुग्नेछ भने स्मारिका प्रकाशनले २५ वर्षको गौरवपूर्ण इतिहासलाई दस्तावेजीकरण गर्न मद्दत गर्नेछ। संस्थाको जग बलियो बनाउनेहरूप्रति कृतज्ञता प्रकट गर्न शिक्षक र संस्थापक सदस्य सम्मान कार्यक्रम आयोजना गरिएको प्राचार्य धितालले बताए।

आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावसायिक सीपमूलक कक्षाहरूको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर