रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा पुगेर बालअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मंगलबार रत्ननगर–९ स्थित मोहना माविका ७० जना विद्यार्थीलाई बालअधिकार एवम् बालमैत्री दिगोपनासम्बन्धी प्रशिक्षण दिइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले बताइन् ।

बालबालिका सानै उमेरमा कुलतमा फस्ने, डिप्रेसनमा जाने र नकारात्मक सोच बढी हुने भेटिएकोले विद्यालयमै पुगेर मनोसामाजिक परामर्श र बालअधिकारबारे सचेतना फैलाउन सो कार्यक्रम सञ्चालन गरिएको प्रमुख घिमिरेले बताइन् ।

बढ्दो आधुनिकतासँगै प्रविधिको विकासले सानै उमेरमा कुलतमा फस्ने, नकारात्मक सोच पैदा भई विभिन्न घटना घट्नेक्रम बढिरहेको समयमा सञ्चालन गरिएको बालअधिकार र मनोसमाजिक परामर्शले जीवन परिवर्तनमा ठूलो भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक दयाराम ढकालले बताए । नगरसँग समन्वय गरेर समय–समयमा यस्ता खाले कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने ढकालले बताए ।

कार्यक्रमकी प्रमुखअतिथि वडा सदस्य सुष्मा खड्काथोकीले विद्यार्थी भाइबहिनीहरुले मोबाइलमा गेम र नचाहिने कुराभन्दा जीवन उपयोगी ज्ञानका कुराहरु खोज्ने र हेर्ने गर्नुपर्ने बताइन् ।
उनले विद्यार्थीको धन भनेकै अनुशासन भएको बताउँदै गुरुहरु र बुबाआमाले भनेको मान्नुपर्नेमा जोड दिइन् । उनले नगरपालिका र वडाबाट बालबालिकालक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोसमेत बताइन् ।

कार्यक्रममा सहायक महिला विकास अधिकृत नानीमाया पौडेल, कपरखोरी माविका प्रधानाध्यापक डा. विष्णु कट्टेल, नेपाल रेडक्रस सोसाइटीमा मनोसामाजिक परामर्शकर्ता प्रदीप सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार