राप्ती । राप्ती नगरपालिक वडा नं १० वडा नं १० कोराक र किरणटारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ९३० जनाको उपचार गरिएको छ । सीमान्तकृत चेपाङ समुदायलाई केन्द्रीत गरी आयोजना गरिएको शिविरमा बृद्धा, बालबालिका सहित स्थानीयहरुको उपचार गरिएको थियो । सोमबार कोराक र मंगलबार किरणटारमा शिविर गरिएको हो । ग्रिन सोसाइटी नेपाल सौराहाको आयोजना तथा ग्रीन सोसाइटी पब्लिक स्कूल, राप्ती नगरपालिका वडा नं १०, रत्ननगर प्याब्सन, जेसीआई खैरहनी पर्साको सह–आयोजना र शान्ति सेवागृह काठमाडौंको प्राविधिक सहयोगमा विकट बस्तीमा शिविर गरिएको हो । कोराकमा १८९ जना वृद्धवृद्धा र अन्य उमेर समूहका तथा ९७ जना बालबालिका गरी २८६ जना र किरणटारमा ६५० जनाको उपचार गरिएको छ । राष्ट्रिय आधारभूत विद्यालय किरणटारमा आयोजित शिविरमा २१० जना बालबालिका सहित ६५० जनाको उपचार गरी निःशुल्क औषधि समेत वितरण गरिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए । शिविरमा सुगर, प्रेसर, टिटानस भ्याक्सिन, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परीक्षण, आँखा उपचार, चस्मा वितरण र स्त्री रोगसम्बन्धी जाँचसँगै निःशुल्क औषधि, ब्रस, मञ्जन, लिटो र झुल वितरण गरिएको परियारले बताए । ग्रिन सोसाइटीका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष तेजबहादुर तामाङ रहेका थिए । यसैबीच सोमबार कोराकमा गरिएको स्वास्थ्य शिविरमा पुगेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्थानीय पूर्णिमाया चेपाङको जीवन जोगाउन सफल भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आएकी उनको अबस्था गम्भिर रहेको थियो । तर, समयमै स्वास्थ्यकर्मी र आयोजकको तत्परताले उनको ज्यान जोगियो । भण्डारा बजारबाट तुरुन्तै अक्सिजन ल्याइयो, प्राथमिक उपचार गरियो र थप उपचारका लागि अस्पताल पठाइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार