रत्ननगर । जनस्वास्थ्य कार्यालय चितवनको आयोजना एवम् रत्ननगर नगरपालिकाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा सचेतना कार्यक्रम आज रत्ननगर–९ स्थित आधारभूत स्वास्थ्य केन्द्र, मोहनामा सम्पन्न भएको छ ।

नसर्ने रोगका बारेमा प्रकाश पार्दै रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले सरकारले फागुन महिनालाई नसर्ने रोगहरूको देशैभरि निःशुल्क परीक्षण अभियान सुरू गरेको र नेपालका नसर्ने रोगहरु मृत्युको प्रमुख कारण बन्दै गएको बताए ।

नसर्ने प्रकृतिका रोगहरूमा क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुका रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि पर्दछन् । नसर्ने रोग लागेका तीनमध्ये दुई जनाको मृत्यु हुने गरेको बताउँदै जनस्वास्थ्य अधिकृत पौडेलले समयमै परीक्षण गरी रोगको निदान गर्न सकिए नसर्ने रोगबाट हुने मृत्युदर कम गर्न सकिने बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका कार्यक्रम अधिकृत गुरु कँडेलले नेपालमा ७४ प्रतिशत मानिसमा नसर्ने रोगको समस्या रहेको र यस रोगका कारण अल्पायुमै मानिसको ज्यान जाने गरेकोले सरकारले स्क्रिनिङ अभियान सञ्चालन गरेको जानकारी दिए । नसर्ने रोगको समयमै उपचार नहुँदा बिरामीको अवस्था जटिल बन्दै जाने र उपचार व्यवस्थापनमा समेत समस्या हुने गरेको बताए ।

नसर्ने रोगबारे समयमै पहिचान गरी उपचार व्यवस्थापनमा सहयोग पु¥याउन जनस्वास्थ्य कार्यालय चितवनले पालिकाहरुमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

स्वास्थ्य शिविरमा परीक्षणका क्रममा समस्या देखिएकाहरुलाई थप परीक्षणको लागि बकुलहर रत्ननगर अस्पतालमा रेफर गरिने र मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत दुई हजार २०० बराबरको निःशुल्क परीक्षणको व्यवस्था गरिएको उनले बताए ।

रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले पछिल्लो समय आधारभूत स्वास्थ्य केन्द्रमै निःशुल्क प्रयोगशाला सेवा, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा ल्याब सेवा, गर्भवतीको भिडियो एक्सरे (युएसजी) परीक्षणजस्ता सुविधा रहेकाले कोही पनि रोग पालेर बस्न आवश्यक नरहेको बताए । समयमै रोग पत्ता लगाउन सकिए उपचार गर्न सहज हुने भएकाले हरेक वडावासीले आफ्नो परिवारको स्वास्थ्य परीक्षण गराउन उनले अनुरोध गरे ।

रत्ननगर नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न सुविधा प्रदान गर्दै आएको र वडावासीलाई स्वस्थ राख्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी लागिपरेको उनको भनाइ थियो ।

जनस्वास्थ्य कार्यालय चितवनद्वारा सञ्चालित नसर्ने रोगको स्वास्थ्य परीक्षणमा ९० जनाले परीक्षण गराएका थिए । परीक्षणमा डा. रेजिना मैनाली, डा. अनिश अधिकारी, डा. रोशन श्रेष्ठ, डा. वीरेन्द्र पण्डित, जनस्वास्थ्य अधिकृत रन्जिता पौडेललगायत स्वास्थ्यकर्मी संलग्न थिए ।

आधारभूत स्वास्थ्यकेन्द्र, मोहनाका प्रमुख सिअहेव अधिकृत विदुर बस्ताकोटीले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सबिता चौधरी, वडासदस्य कमानसिंह चौधरी, लेखबहादुर लामा, सुष्मा खड्काथोकी, राजकुमार ढुङ्गाना, वडा सचिव सूर्यप्रसाद ढुङ्गानालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा ३० वर्षमाथिका व्यक्तिहरुको नसर्ने रोगको निःशुल्क स्क्रिनिङ, निःशुल्क प्रयोगशाला सेवा (नमुना संकलन), ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा ल्याब सेवा, गर्भवती महिलाको भिडियो एक्सरे (युएसजी) परीक्षण, मधुमेह जाँच (रगतमा चिनीको मात्रा परीक्षण), मिर्गौलासम्बन्धी रोगको जाँच, रक्तचाप मापन, उचाइ र तौलको आधारमा जोखिम भार बहन जाँच गरिएको थियो । प्रयोगशाला शुभारम्भ कार्यक्रममा ९० जनाले सुविधा लिएका थिए ।

रत्ननगर नगरपालिकाले नगरभित्रका सबै स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सेवा सञ्चालन गर्दै आइरहेको र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर हरेक महिनाको गतेअनुसार वडाहरुमा जारी रहेको स्वास्थ्य शाखाका सिअहेव अधिकृत वासुदेव सापकोटाले जानकारी दिए ।

गर्भवती महिलाहरुको भिडियो एक्सरे सेवा स्वास्थ्य शाखाका सिअनमी अम्बिका पौडेल, बकुलहर रत्ननगर अस्पतालका क्षयरोग फोकल पर्सन नारायणप्रसाद ढुङ्गाना, प्रयोगशाला सेवा पिठुवा स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट कविता ढकाल, सिअहेव दुर्गा श्रेष्ठ, सामुदायिक स्वास्थ्य महिला स्वयंसेविकाहरु कमला घिमिरे, मीना चौधरी, मन्जु अधिकारी, सुमित्रा महतोलगायतले सेवाग्राहीका लागि सहजीकरण गरेका थिए ।

सोहि अवसरमा ९ नम्बर वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने सुत्केरी महिलाहरु र क्षयरोगका विरामीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत १ क्रेट अण्डा, १ बोरा चामल, २ किलो मुसुरोको दाल, डाबर मन्जन १ थान, ब्रस १ थान, २ किलो चना, डिटोल साबुन २ थान, २ पोका नुन, १ प्याकेट मसला, २ लिटर तोरीको तेल, आधि किलो हर्लिक्स प्रतिव्यक्ती लाई वितरण गरिएको वडा सचिव सुर्य प्रसाद ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर