
हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ ५ –
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको एघारौं दिन भोलि माघ ६ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार आजबाट सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता भालि पनि जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुने छ ।
त्यसैगरी भोलि कलाकार रिता थापा मगर र जादुगर बलराम सरकारको विशेष प्रस्तुती रहने छ । त्यसैगरी भोलि नै अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुँदैछ ।
त्यसैगरी नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल दराइ उत्थान चितवन, प्रतिभा मञ्च विजेता कावासोती, भुजेल सेवा समिति चितवन र केडि डान्स सेन्टर नारायणगढको प्रस्तुती रहने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।